
- सञ्चार तथा सूचना प्रविधि मन्त्री जगदीश खरेलले आफ्नो कार्यकालमा कुनै खराब काम नगर्ने प्रतिबद्धता जनाए।
- हरिप्रसाद कल्याणी रिमाल नाट्य संगीत प्रतिष्ठानले उनलाई एक लाख रुपियाँ र सम्मानपत्रले पुरस्कृत गर्यो।
- कार्यक्रम जेनजी आन्दोलनका कारण अघिल्लो मिति सरेको थियो भने अन्य कलाकारहरू पनि सम्मानित भए।
सञ्चार तथा सूचना प्रविधि मन्त्री जगदीश खरेलले आफ्नाे कार्यकालमा कुनै खराब काम नगर्ने बताएका छन् ।
रेडियो नेपालका प्रथम गायक ख्यातिप्राप्त रंगकर्मी अभिनेता तथा गीतकार स्वर्गीय हरिप्रसाद रिमालको १०१ औँ जन्मजयन्तीको अवसरमा हरिप्रसाद कल्याणी रिमाल नाट्य संगीत प्रतिष्ठानले सञ्चार सेवा सम्मानबाट पुरस्कृत भइसकेपछि उनले यसाे भनेकाे हुन्। खरेलले पनि १ लाखको पुरस्कार र सम्मानपत्र पाएका छन्।
‘म याे मञ्चबाट प्रतिबद्धता गर्न चाहन्छु कि, मैले जानेर बुझेर कुनै काम गर्ने छैन। राम्राे काम के कति गर्न सकिएला पाँच महिनापछि थाहा हाेला तर खराब काम चाहिँ मबाट हुने छैन,’ उनले भने।
‘तेरो कारणले खराब काम भयो भन्ने बनाउने छैन। मलाई नागरिक सरकारले मन्त्री बनाएको हो। तपाईंहरूले डोर्याएको बाटो हिँड्ने छु,’ मन्त्री खरेलले थपे।
उनले कार्यक्रममा पाँच महिना पछि त जाने दिन नै हुन्छ भन्दै जोडे, ‘जेनजी आन्दोलनले दिएको म्यान्डेट पुरा गर्नु छ।’
मन्त्री खरेललाई प्रतिष्ठानले सम्मान गर्ने निर्णय मन्त्री हुन अगाडि नै गरेको थियो। असोजको २ गते गरिने भनिएको कार्यक्रम जेनजी आन्दोलनका कारण पछाडि सरेको थियो ।
प्रतिष्ठानले गायिका मिरा राणा र गायक धिरज राईलाई पनि जनही एक लाख र सम्मान पत्रले सम्मान गरेको छ।