
- एमाले केन्द्रीय कमिटी बैठकमा अधिकांश सदस्यहरूले नेतृत्व परिवर्तन नगर्नुपर्ने भन्दै अध्यक्ष ओलीलाई समर्थन गरेका छन्।
- एक सदस्यले विद्यादेवी भण्डारीको नेतृत्वमा पार्टी अगाडि बढाउनुपर्ने धारणा राखे पनि बहुसंख्यकले ओलीलाई नै समर्थन गरे।
- अध्यक्ष ओलीले फेसबुक अभियानबाट राजीनामा नदिने बताएका छन् र महाधिवेशनको मिति तोकिएको छ।
काठमाडौँ- नेकपा एमालेको जारी केन्द्रीय कमिटी बैठकमा कतिपय सदस्यले पार्टी अध्यक्ष केपी शर्मा ओलीको आलोचना गरे पनि बहुसंख्यक सदस्यहरूले भने संकटको बेला नेतृत्व परिवर्तनमा जान नहुने भन्दै अध्यक्ष ओलीलाई साथ दिएका छन्।
जेनजी आन्दोलनपछि पहिलोपटक बसिरहेको एमाले केन्द्रीय कमिटी बैठकमा अधिकांश सदस्यहरूले तत्काल नेतृत्व परिवर्तन गर्न नहुने बताएका थिए।
कम्तीमा एक सदस्यले भने ओलीले पदत्याग गरेर पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीको नेतृत्वमा पार्टी अगाडि बढाउनुपर्ने धारणा राखेका थिए।यसअघि गुण्डुस्थित ओलीको डेरामा भएको एमाले सचिवालय बैठकमा धेरै पदाधिकारीहरूले अध्यक्षले पदत्याग गरेर मार्गप्रसस्त गर्नुपर्ने बताएका थिए।
तर, बुधबार र बिहीबार ३ बजेसम्म बोलेका करिब ८० केन्द्रीय कमिटी सदस्यहरूमध्ये अधिकांशले भने ओलीकै गुणगानमा समय खर्चिएका थिए।
वर्णानुक्रम अनुसार ‘ज्ञ’बाट शुरू भएको बोल्ने क्रम ‘न’मा आइपुगेको छ।
केन्द्रीय कमिटी बैठकको सुरुमा बुधबार मन्तव्य दिँदै अध्यक्ष ओलीले फेसबुकमा अभियान चलाउँदैमा राजीनामा नदिने बताएका थिए। उनले आफूले नबिग्रिएकाले सप्रिन आवश्यक नरहेको बताएका थिए। एमालेले आगामी मंसिर २७ देखि २९ गतेसम्मका लागि महाधिवेशनको मिति तोकेको छ।
बुधबार बैठकमा सहभागी हुन अध्यक्ष ओली युवासंघको लावालस्करसहित गुण्डुबाट ललितपुर पुगेका थिए।