
- ओमानमा भइरहेको टी–२० विश्वकप एसिया छनोटमा उपाधि जितेमा नेपाली क्रिकेट खेलाडीले जनही १९ लाख ५० हजार पाउनेछन्।
- खेलाडी पुरस्कार संरचना खेलकुद विकास नियमावली अन्तर्गत व्यवस्थित गर्दै जनही १३ लाख पाउने व्यवस्था गरिएको थियो।
- नेपाल सामोआलाई हराएमा च्याम्पियन बन्नेछ, नभए ओमान र जापानको खेलको नतिजा महत्त्वपूर्ण हुनेछ।
काठमाडौं – नेपाली राष्ट्रिय क्रिकेट टिमले ओमानमा जारी टी–२० विश्वकप एसिया तथा इस्ट एसिया छनोटमा उपाधि जितेको खण्डमा राष्ट्रिय क्रिकेट टीमका खेलाडीहरूले जनही १९ लाख ५० हजार रुपैयाँ प्राप्त गर्ने सदस्यसचिव टंकलाल घिसीङले बताए।
राष्ट्रिय खेलकुद परिषद्का सदस्य सचिव टंकलाल घिसिङले खेलकुद विकास नियमावली २०७९ अनुसारनै उक्त रकम प्राप्त गर्ने बताए। नेपाल अहिलेसम्म प्रतियोगितामा अपराजित रहँदै अंकतालिकाको शीर्षस्थानमा छ। बुधबार भएको खेलमा ओमानलाई हराएसँगै नेपाल च्याम्पियन नजिक पुगेको छ। अब शुक्रवार हुने अन्तिम खेलमा नेपालले सामोआलाई हराएको खण्डमा नेपालले छनोट प्रतियोगिताको उपाधि जित्ने छ।
घिसिङकै कार्यकालमा ल्याइएको खेलकुद विकास नियमावलीमा खेलाडीहरूलाई प्रदान गरिने पटके पुरस्कारलाई व्यवस्थित गरिएको थियो। कस्तो प्रतियोगिता जितेमा खेलाडी र प्रशिक्षकलाई कति पुरस्कार दिने भन्ने नियमावलीमै उल्लेख भएअनुसार पुरस्कार पाउँदै आएका छन्।
नियमावलीको अनुसूची ४ अन्तरगतको व्यवस्था अनुसार यदि नेपालले विश्वकप जितेको खण्डमा खेलाडीले जनही ३२ लाख ५० हजार रुपैयाँ पाउँछन्। यस्तै, उपविजेता भएको खण्डमा जनही २६ लाख र तेस्रो भएमा १९ लाख ५० हजार दिने व्यवस्था छ।
विश्वकप छनोट प्रतियोगितामा पहिलो भएको अवस्थामा पनि प्रत्येक खेलाडीले १९ लाख ५० हजार पाउने व्यवस्था गरिएको छ। दोस्रो भएमा १३ लाख र तेस्रो भएमा ९ लाख १० हजार पाउँछन्। यही नियमावली अनुसार २०२४ को विश्वकप छनोट प्रतियोगितामा नेपाल दोस्रो हुँदा खेलाडीले १३ लाख जनही पाएका थिए।
छनोट प्रतियोगिताको उपाधि जितेमा प्रमुख प्रशिक्षकले ६ लाख २५ हजार रकम पाउने छन्। यस्तै, सहायक प्रशिक्षक, फिजियो र अफिसियललाई ३ लाख २५ हजार दिइने छ। दोस्रो भएमा प्रमुख प्रशिक्षकले ३ लाख ९० हजार र अफिसियलहरुले एक लाख ९१ हजार रुपैयाँ प्राप्त गर्ने छन्।
प्रतियोगिताको उपाधि जितेमा नेपाल क्रिकेट संघ ९क्यान० ले पनि ६ लाख ५० हजार रुपैयाँ पाउनेछ। दोस्रो भएमा ३ लाख ९० हजार र तेस्रो भएमा दुई लाख ६० हजार रुपैयाँ प्राप्त गर्ने व्यवस्था नियमावलीमा गरिएको छ।
नेपालले अब अन्तिम खेल सामोआलाई हराएमा अपराजित रहँदै च्याम्पियन बन्ने छ। यदि नेपाल पराजित भएमा ओमान र जापानबिचको खेलको नतिजा समेत महत्वपूर्ण हुने छ।