
- कांग्रेस नेता डा शेखर कोइरालाले सबै नेपालीको सहभागीता सुनिश्चित गर्न निर्वाचनको वातावरण बनाउन सरकारलाई आग्रह गरे।
- संविधानको रक्षार्थ कांग्रेसको भूमिका महत्वपूर्ण रहेको भन्दै डा कोइरालाले भावी राजनीतिक दिशा प्रमुख ठहरिने बताए।
- कांग्रेसको महाधिवेशनले नेतृत्वमा ताजापन ल्याउने कुरा गर्दै पार्टीलाई एकताबद्ध र बलियो बनाउनु आवश्यक भनियो।
काठमाडौँ – कांग्रेस नेता डा शेखर कोइरालाले सरकारले घोषित निर्वाचनमा सबै नेपाली सहभागी हुने वातावरण बनाउनुपर्नेमा जोड दिएका छन्।
कांग्रेस केन्द्रीय कार्यसमितिको बैठकमा आज उनले कांग्रेस जनताको घरदैलोमा पुग्ने यस अवसरलाई उत्साहपूर्वक अग्रिम पंक्तिमा उभिएर अघि बढ्नुपर्ने उल्लेख गरे।
नेता डा कोइरालाले भने, “सात दशकको प्रयत्नपछि निर्माण भएको वर्तमान संविधान यतिखेर अर्धमूर्छित अवस्थामा छ। यो संविधानको रक्षार्थ हामी कहाँ उभिन्छौँ, भावी राजनीतिक दिशा त्यसैले तय गर्नेछ।”
राजनीतिक दल, जेनजी पुस्तालगायत सबैैले वर्तमान सरकारलाई निर्वाचनको म्यान्डेट दिएको उनको भनाइ थियो। उनले निर्वाचनको वातावरण बनाउन गत भदौ २३ र २४ गते जेनजी आन्दोलनको क्रममा लुटिएका हतियारहरु सरकारको नियन्त्रणमा आउनुपर्ने बताए। नेता डा कोइरालाले त्यसक्रममा जेलवाट भागेका अपराधीहरुलाई पुनः सरकारले युद्धस्तरमा खोजेर नियन्त्रणमा लिई कानुनको कठघरामा ल्याउन ढिलो गर्नु नहुने बताए।
‘कांग्रेसलाई नयाँ दिशा र नयाँ संभावनाको पार्टी’ बनाउन आगामी मंसिर महिनामा पार्टीको १५औं महाधिवेशन गर्नुपर्ने उल्लेख गर्दै उनले नियमित महाधिवेशनवाट मात्र सबैैको सम्बोधन र नेतृत्वमा समेत ताजापन सम्भव हुने उनको भनाइ थियो।
एकताबद्ध कांग्रेस, बलियो कांग्रेस र समयसापेक्ष परिवर्तन कांग्रेस आजको आवश्यकता भएको बताउँदै नेता डा कोइरालाले २०७९ सालमा कांग्रेस र अन्य दलहरुसँग भएको गठबन्धनका उम्मेदवारलाई सहयोग नगरेको भन्ने उजुरीका आधारमा या विद्रोही उम्मेदवार उठेको कारण कारबाहीको सिफारिसमा परेको सबैका कारबाही फिर्ता गर्न माग गरे।