
काठमाडौँ – एमालेको केन्द्रिय कमिटीको बैठकको दोस्रो दिनसम्म १ सय ८४ जना केन्द्रिय सदस्यहरुले धारणा राखेका छन्। बुधवारबाट शुरु भएको बैठकको पहिलो दिन ५० जना सदस्यहरुले आफ्ना धारणा राखेका थिए ।
दुई दिनमा कुल १ सय ८४ जना केन्द्रिय सदस्यहरुले धारणा राख्ने क्रम सकिएको पार्टीका प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले जानकारी दिए। केन्द्रिय समितिका ३ सय ६७ जना केन्द्रिय सदस्यहरु रहेकोमा १ सय ८४ जना केन्द्रिय सदस्यहरुले धारणा राखिसकेका छन् ।
अध्यक्ष केपी ओलीले पेश गरेको राजनीतिक प्रतिवेदनमाथि केन्द्रीय सदस्यहरुले धारणा राख्दै संविधानको रक्षा, जनाधिकारको रक्षाका लागि प्रतिनिधि सभाको पुनःस्थापना गर्नुपर्ने सुझाव दिएको दाबी गरे।
अहिलेको समयमा सबैभन्दा सरल, सहज र संविधानलाई ट्रयाकमा ल्याउने, जनाधिकार, लोकतान्त्रिक गणतन्त्रको रक्षा गर्ने एकमात्र सहज बाटो संसद पुनःस्थापनाको बाटो हुने निष्कर्षतर्फ कमिटी अघि बढिरहेको गौतमको दाबी छ।
सरकारले निर्वाचन घोषणा गरेको सन्दर्भमा निर्वाचन आयोगले राजनीतिक दलहरुलाई बोलाएकोमा ७ बुँदामा केन्द्रित रहेर सरकारलाई निर्वाचनको वातावरण बनाउन अपिल गरेको बताए। बैठक नसकिएकाले शुक्रबार बिहान ८ बजेदेखि पुनः बस्नेछ।