
- प्लानिङ ब्वाइज युनाइटेड बेलबारीमा मेजर स्वर्गीय एन. बि. रुङमाहाङ अन्तर्राष्ट्रिय रनिङ गोल्डकप फाइनलमा ३-० ले प्रवेश गर्यो।
- खेलको चौथो मिनेटमा चन्दन दासले गोल गर्दै खेलको शुरुआत गरेको प्लानिङले एल.एक्स. सिटीलाई दबावमा राख्यो।
- ७७ औं मिनेटमा प्रतापसिंह तामाङ र ७९ औं मिनेटमा रोम भुजेलले गोल गर्दै खेलको विजय सुनिश्चित गरे।
मोरङ – बी डिभिजन विजेता प्लानिङ ब्वाइज युनाइटेड बेलबारीमा जारी मेजर स्वर्गीय एन. बि. रुङमाहाङ अन्तर्राष्ट्रिय आमन्त्रण रनिङ गोल्डकपको फाइनलमा प्रवेश गरेको छ।
बिहीबार मोरङको बेलबारी–११, लक्ष्मीमार्गमा भएको पहिलो सेमीफाइनलमा आयोजक एल.एक्स. सिटि फुटबल क्लबलाई ३–० ले पराजित गर्दै फाइनलमा प्रवेश गरेको हो।
एकपक्षीय बनेको खेलको सुरुवाती चौथो मिनेटबाटै प्लानिङले गोलको सुरुवात गरेको थियो। खेलको चौथो मिनेटमा प्लानिङका लागि चन्दन दासले गोल गरेका थिए।
त्यसपछि खेलमा बराबरी गर्ने केही राम्रा अवसर एलएक्स सिटीले गुमाएको थियो। यद्धपि, पहिलो हाफमा एक शुन्यले अग्रता बनाएको प्लानिङले दोस्रो हाफमा समेत मैदानमा दबदबा कायम राखेको थियो।
सोही क्रममा खेलको ७७ औं मिनेटमा प्लानिङका लागि प्रतापसिंह तामाङले गोल गर्दै अग्रता दोब्बर बनाए। सो गोलको दुई मिनेट नवित्तै प्लानिङले तेस्रो गोल गरेको थियो।
खेलको ७९ औं मिनेटमा प्लानिङका लागि रोम भुजेलले एक्लैले मध्य भागबाट बल अघि बढाएर विपक्षीको पोष्टमा गोल गर्न सफल भएका थिए। सोही गोलसँगै प्लानिङले आयोजक एलएक्सलाई ३ शून्यले स्तब्ध बनाएको थियो। गोल्डकप अन्र्तगत भोली हुने दोस्रो सेमीफाइनलमा जिल्ला फुटबल संघ भोजपुरले साविकको उपविजेता सिरहाको सहलेश युथ क्लबको सामना गर्नेछ।