
- अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचार मुद्दा दायर गरेपछि प्रदेशसभा सदस्य सरोजकुमार सिंहलाई निलम्बन गरिएको छ।
- जसपाका सांसद सिंहविरुद्धको मुद्दा दायर भएको पत्र प्रदेशसभा सचिवालयमा पठाएकोले उनलाई पदबाट हटाइएको हो।
- मधेस प्रदेशसभामा सरोजकुमार सिंहसहित अन्य सदस्यलाई भ्रष्टाचारको आरोपमा निलम्बन गरिएको छ, जसबाट प्रदेशसभा १०४ सदस्यी भएको छ।
जनकपुरधाम – मधेस प्रदेशसभा सदस्य सरोजकुमार सिंह निलम्बनमा परेका छन्। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालत काठमाडौँमा भ्रष्टाचार मुद्दा दायर गरेपछि सिंह निलम्बनमा परेका हुन्।
जनता समाजवादी पार्टी (जसपा) नेपालको तर्फबाट महोत्तरी क्षेत्र नं। ४(ख) बाट निर्वाचित सिंहलगायतलाई प्रतिवादी बनाउँदै आयोगले बिहीबार मुद्दा दायर गरेको पत्र प्रदेशसभा सचिवालयमा पठाएपछि उनलाई निलम्बन गरिएको हो।
आयोगले सिंह सार्वजनिक पद धारण गरेको राष्ट्रसेवक भएकोले उनको हकमा अख्तियार दुरुपयोग अनुसन्धान आयोग ऐन, २०४८ को दफा १७ तथा भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३३ बमोजिम स्वतः निलम्वन हुने व्यवस्था रहेको भनि पत्र पठाएकोमा प्रदेशसभा कार्यसञ्चालन नियमावली २०७५ को नियम २१० को उपनियम २ बमोजिम सूचना प्रकाशन गरिएको सचिव वासू प्रसाद कोइरालाले जनाएका हुन्।
सिंह निलम्बनमा परेसँगै मधेस प्रदेशसभा १०४ सदस्यी भएको छ। यसअघि लोकतान्त्रिक समाजवादी पार्टीका अभिराम शर्मालाई जिल्ला अदालत महोत्तरीले असई थमन विकको हत्या प्रकरणमा जन्मकैदको सजाय सुनाएपछि निलम्बनमा परेका थिए भने नेकपा एमालेका दिपेन्द्र ठाकुर विरुद्ध आयोगले भ्रष्टाचार मुद्दा दायर गरेपछि उनलाई पनि निलम्बन गरिएको छ।