
- मोरङ प्रहरीले जेनजी आन्दोलनमा फरार भएका अभिषेक जैसवाललाई दरैयाबस्तीबाट नियन्त्रणमा लिएर चोरीको स्कुटी पनि बरामद गरेको छ।
- जैसवाल चोरी मुद्दामा झुम्का कारागारमा थिए र भदौ २४ गते राति कारागारबाट भागेका थिए।
- उपेन मण्डल सिन्धुलीबाट फरार भएका थिए, प्रहरीले उनलाई मोरङबाट पक्राउ गरेको हो।
मोरङ – जिल्ला प्रहरी कार्यालय मोरङले जेनजी आन्दोलनका क्रममा विभिन्न दुई वटा कारागारबाट फरार रहेको दुई कैदीबन्दीलाई नियन्त्रणमा लिएको छ।
मोरङ प्रहरीका प्रवक्ता तथा प्रहरी नायब उपरिक्षक कोपिला चुडालका अनुसार बुधबार राती करिब साढे ११ बजे विराटनगर १६ दरैयाबस्तीबाट इटहरीका अभिषेक जैसवाललाई नियन्त्रणमा लिएको हो। जैसवालको साथबाट प्रहरीले को ३८ प ४९७२ नम्बरको स्कुटी समेत बरामद गरेको छ।
कारागारबाट फरार भएका जैसवालले सो स्कुटी विराटनगरको वडा नम्बर १ स्थित नेता चौकबाट चोरी गरेको प्रहरीले जनाएको छ। इटहरी २ का २९ वर्षीय जैसवाल चोरी मुद्धामा सुनसरीको झुम्का कारागारमा रहेका थिए। उनी जेनजी आन्दोलनका क्रममा गत भदौ २४ गते राति कारागारबाट फरार भएका हुन्।
त्यसैगरि, जेनजी आन्दोलनकै क्रममा सिन्धुलीस्थित जिल्ला कारागार कार्यालय सिन्धुलीबाट फरार भएका ३९ वर्षीय उपेन मण्डललाई समेत प्रहरी नियन्त्रणमा लिएको छ। जबरजस्ती करणी मुद्धामा ८ वर्ष ६ महिना कैद सजाय तोकिएका मण्डल भदौ २४ गते राती कारागारबाट फरार भएका हुन्। मोरङको धनपालथान गाँउपालिकाको सोराभागका मण्डललाई प्रहरीले खोजतलास गर्ने क्रममा उनकै घरबाट नियन्त्रणमा लिएको हो।