
- ललितपुरको जावलाखेलमा एमालेको केन्द्रीय कमिटीको तेस्रो दिनको बैठकमा राजनीतिक प्रतिवेदनमाथि धारणा राख्ने कार्य भइरहेको छ।
- बैठकमा पोलिटब्युरो, स्थायी कमिटी र पदाधिकारीहरुले तीन मिनेटको समय पाउँदै आफ्ना विचार व्यक्त गर्नेछन्।
- अध्यक्ष केपी शर्मा ओलीले सुझावको जवाफ दिएपछि बैठक समापन हुनेछ र प्रदीप ज्ञवालीले समसामयिक प्रस्ताव प्रस्तुत गर्नेछन्।
काठमाडौँ- नेकपा (एमाले)को १०औं केन्द्रीय कमिटीको तेस्रो दिनको बैठक जारी छ ।
उक्त बैठक ललितपुरको जावलाखेलमा प्रारम्भ भएको हो । यही असोज २९ र ३० गते बोल्न बाँकी रहेका केन्द्रीय सदस्य र पदाधिकारीले पार्टी अध्यक्ष केपी शर्मा ओलीले प्रस्तुत गरेको राजनीतिक प्रतिवेदनमाथि आज आ–आफ्नो धारणा राख्ने प्रचार तथा प्रकाशन विभाग प्रमुख राजेन्द्र गौतमले जानकारी दिए ।
यस अघि करिब २०० केन्द्रीय सदस्यले आआफ्नो धारणा राखेका थिए। आजको बैठकमा पोलिटब्युरो, स्थायी कमिटी र पदाधिकारीहरुले आफ्ना धारणा राख्ने छन् ।
एमालेमा स्थायी र पदाधिकारीसहित ९९ नेताहरू रहेका छन् । स्थायी र पदाधिकारीलाई पनि पनि तीन मिनेटकै समय उपलब्ध गराइने प्रचार विभाग प्रमुख गौतमले बताए।
सबैले धारणा राखेपछि अन्त्यमा अध्यक्ष ओलीले प्रतिवेदनमाथिको सुझावको एकमुष्ट जवाफ दिएर बैठक समापन गरिने छ । अध्यक्ष ओलीको विशेष प्रस्तावमा केन्द्रीय सदस्यहरूले दिएका सुझाव, वर्तमान राजनीतिक परिस्थिति पार्टीको आगामी बाटो र पार्टीका नेता कार्यकर्ताको भूमिका आदिका बारेमा निर्देशन दिनेछन् ।
यस्तै आजको बैठकमा उपमहासचिव प्रदीप ज्ञवालीले समसामयिक प्रस्ताव पनि प्रस्तुत गर्ने कार्यतालिका रहेको छ ।