
- आकृति सोङ्मीले पहिरोमा बुवा, आमा, हजुरबुवा, हजुरआमा र एक बहिनी गुमाएपछि जीवन कठिन बनेको छ।
- स्थानीय र फुटबल संघका अधिकारीहरू आकृतिलाई फुटबल खेलमा अतिरिक्त सहायता दिईने योजनामा लागेका छन्।
- कोशी प्रदेश सरकारले पहिरो प्रभावितहरूलाई घर बनाइदिने प्रतिवद्धता गरिए पनि अहिलेसम्म कार्यान्वयन भएको छैन।
मोरङ – इलामको माइजोगमाई पालिकामा परिवार गुमाएको पीडासँगै १६ वर्षीया आकृति सोङ्मीको आँखा अझै ओभाएका छैनन्। असोज १८ गतेको कहालीलाग्दो त्यो रात उनको जीवनभर नमेटिने छाप लिएर गएको छ।
गाउँपालिकाको वडा नम्बर ६ को प्याङस्थित सोङ्मी गाउँमा जुन रात आकृतिले एकैसासमा बुवा धनबल, आमा सरला, हजुर बुवा बमध्वज, हजुर आमा बुद्धिमाया र एक बहिनीलाई पहिरोमा गुमाइन्।
त्यसयता उनी न रात न दिन हरक्षण झस्किरहन्छिन्। गाउँपालिकाबाट विकट पहाडी क्षेत्रमा पर्ने उनको गाउँमा सोङ्मी लिम्बू जातिको बाहुल्यता रहेको छ। आकृतिको परिवार, बुवा पनि सामान्य खेतिकिसानमा आश्रित थिए। विहानबाट परेको अविरल वर्षाले उनीहरू पनि घरबाट समेत निस्किएका थिएनन्। यद्धपि, उनको घरदेखि केही पर आकृतिको काका रविन सोङ्मीको घर छ।
जहाँ दिउँसो नै बुवा धनबलले कान्छी छोरी स्मृतिलाई पठाएका थिए। त्यसैगरि, आकृति इलाम नगरपालिकास्थित एक विद्यालयमा कक्षा ११ अध्ययनरत थिइन्। जसका कारण बहिनी स्मृति र आकृति पहिरोबाट जोगिएका थिए। आकृति विद्यालयस्तरीय फुटबलमा रमाउने गर्छिन्। उनको खेल र अध्ययनप्रति लगाब देखेर बुवा धनबलले समेत उच्च शिक्षा र खेलकुद राम्रो होस भनेर इलाममा पठाएका थिए।
यतिबेला न उनको घर, न आगँन न त परिवार। एकैरातमा प्राकृतिक विपद्ले आकृतिको सबै नातालाई तोडिदिएको छ। माइ जोगमाई गाउँपालिका वडा नम्बर ६ का अध्यक्ष दिपेश सोङ्मी लिम्बूका अनुसार आकृति र स्मृतिमाथि ठूलो बज्रपात भएको छ। अध्यक्ष लिम्बूले भने, ‘अभिभावकविहीन भए पनि हामीसबै यतिबेला उनको साहरामा रहेकाछौ। अहिले अस्थायी घर बनाएर राख्ने सोच मा छौ।’
सो रात त्यही वडामा पहिरोबाट ८ जनाको मृत्यु भएको बताउँदै उनले भने, ‘एकैरातिमा आकृतिको परिवारबाट ५ जना र अर्का किरण थेबेको परिवारबाट ३ जनाको मृत्यु भएको छ। हामी वडा नै यतिबेला शोकमा छौ।’
हाल काका रविनकै घरमा बसेकी आकृति र उनको बहिनी स्मृतिलाई बिहीबार नेपाल लोकतान्त्रिक खेलकुद संघ कोशी प्रदेश, कोशी प्रदेश फुटबल संघले भेट गरेको थियो। पालिकास्तरबाट फुटबल खेल्दै आएकी उनलाई भेट्नुको अर्थ पीडामा मल्हम लगाउनु नै रहेको संघका निवर्तमान संयोजक बसन्त अर्यालको भनाई छ। उनले भने, ‘रकमले केही सहयोग त होला। तर हाम्रो ध्यान उनको भविष्यप्रति छ। पालिका र विद्यालयस्तरबाट फुटबल खेल्दै आएकी उदयीमान खेलाडीका रूपमा रहेकी आकृतिलाई विश्वास, भरोसा र एउटा टेवा दिनेतर्फ अघि बढ्न खोजेकाछौ। संघका अध्यक्ष तथा पदाधिकारीहरूले समेत फुटबलमै आकृतिलाई अघि बढाउने छलफल गरिरहनु भएको छ।’
सानैबाट फुटबलमा रमाएकी आकृतिले पालिकास्तरबाट फुटबल खेल्दै आएको बताएका वडाध्यक्ष लिम्बूले पनि फुटबलको भविष्य बनाउनतर्फ सबैले ध्यान केन्द्रित गरिदिँदा हुने बताउँछन्।
सोङ्मी गाउँपालिकाबाटै उनले चिनेकी एकजना युवती रौतहट फुटबल एकेडेमीमा रहेकी छिन्। अर्यालले भने, ‘अब त्यहाँ बस्न चाहने हुँदा संघले पहल गर्नेछ। यसका लागि हामीपनि लागि परेकाछौ। उनीमा फुटबलप्रतिको पोटेन्सियालिटी देखेर पनि हामी सहयोगमा आएका हौ।’
आकृतिलाई महिला फुटबल खेलाडी बनाउन आफूहरूले सक्दो पहल गर्ने बताएका कोशी फुटबल संघ कोशी प्रदेशका अध्यक्ष किशोर राईले आकृति परिवारलाई आर्थिक रूपमा ४५ हजार रूपैया सहयोग गरेको जानकारी दिए। त्यसैगरि, पहिरोबाट ३ जना परिवार सदस्य गुमाएका भक्त थेबेलाई ३० हजार र पहिरोबाट प्रभावित भएका जिल्ला फुटबल संघ इलामका सदस्य रमेश श्रेष्ठलाई २५ हजार रूपैया सहयोग गरेको थियो।
पहिरो प्रभावितहरूको लागि कोशी प्रदेश सरकारले घर बनाइदिने घोषणा गरिसकेको छ। तर सो घोषणा अहिलेसम्म बोलीमा मात्र सिमीति रहेको छ। वडास्तरमा घर बनाईदिने विषय पुग्न सकेको छैन। यद्धपी, पहिलोचरणमा दुई किस्तामा ५० हजार रूपैया अस्थायी टहरा निर्माणका लागि पाउने जानकारीमा आएको वडाध्यक्ष लिम्बूले जानकारी दिए। उनले भने, ‘घर बनाउने कुरा सुनेको हो। प्रक्रियामा होला। अहिले अस्थायी टहरा बनाउन २५÷२५ हजार रूपैया दुई किस्तामा दिने कुरा छ। त्यो हुँदा छाप्रो बनाउन सकिएला। तर त्योपनि पहिले टहरा निर्माण गर्नुपर् यो। त्यसलाई प्रक्रियामा लगेर मात्र रकम उपलब्ध हुनेछ।’
वडाले परिवार गुमाएका आकृति र थेबे परिवारको कागजात, जन्मदर्ता, मृत्यु दर्ता, लगायत बनाउन काम गरिरहेको छ। अध्यक्ष लिम्बूले भने, ‘कागजात बनेपछि उनीहरूलाई सहज हुनेछ। अहिले काकाको रेखदेखमा बस्दै आएकाछन्। उनीहरूलाइ सहज बनाउन पहिले रकम उपलब्ध गराएर वा सरकारले भने झैं घर बनाइदिन पाए सहज हुने थियो। प्रदेश सरकारको समेत अनूभुत जनताले गर्ने थिए।’