
- हालै टासी ल्होजनलाई आपत्तिजनक आरोप लागेको छ, तर यसले ‘राष्ट्रियताको सर्टिफिकेट’ बाँड्ने अधिकार कसैसँग छैन भन्ने देखाएको छ।
- सत्ताधारी दल र १२ बुँदे शक्तिहरूले बाह्य शक्तिको आदेशपालकका रूपमा काम गरेकाले भ्रष्टाचार, ढिलासुस्ती र देशघाती प्रवृत्तिलाई पराजित गर्न जनताले सचेत हुनुपर्छ।
- इतिहासबाट सिक्दै आयातीत एजेन्डालाई अस्वीकार गर्दै राष्ट्रिय हितको सुनिश्चितता गर्न जेनजीलाई अवसर मिलेको छ।
हालै एक जना सक्रिय युवा नेपाली टासी ल्होजन चर्चामा आइन्, तर विशुद्ध आपत्तिजनक र अपमानजनक प्रसंगमा। सीमावर्ती क्षेत्रका नागरिक मनोवैज्ञानिक र व्यावहारिक कारणले मुलुकको भूअखण्डताप्रति या सीमा मिचिँदा बढी आतंकित हुने गर्छन्।
यसपटक टासीका तर्फको प्रतिवाद र प्रतिकारले ‘राष्ट्रियताको सर्टिफिकेट’ बाँड्ने अधिकार कसैसँग केन्द्रित हुँदैन भन्ने सन्देश गएको छ।
राष्ट्रियता र राष्ट्रप्रतिको वफादारीमा एउटा साझा मान्यता र आचरण सर्वमान्य सिद्धान्तबाट निर्देशित हुने गर्छ। अन्यथा सावित नहुँदासम्म यो मान्यता यथावत् रहन्छ।
त्यो हो, सबै नागरिक आफ्नो मुलुकप्रति समान रुपमा देशभक्त र बफादार हुने गर्छन्। उनका आचरण र वफादारीमा विचलन आउनु गम्भीर अपराध मानिने गर्छ सर्वत्र।
मुलुकका हितविपरीत या ती हितका मूल्यमा प्रतिस्पर्धी या अन्य मुलुकका लागि काम गर्नेहरूको वफादारी प्रश्नमा आउनै पर्छ र प्रमाणले त्यस्ता अपराध पुष्टि हुँदा उनीहरूमाथि कानुनले व्यवस्था गरेअनुसार दण्ड हुनै पर्छ।
तर, विनाप्रमाण र संवेदनहीन रूपमा नेपालीलाई विदेशीका रूपमा प्रस्तुत गरिँदा त्यसविरुद्ध लड्न कानुनी व्यवस्था र उचित संयन्त्र हुनु आवश्यक छ। त्यस्तै, कुनै नागरिकको मुलुकप्रतिको बफादारी वदनियतवश प्रश्न गर्नेहरूलाई पनि कानुनको दायरामा ल्याउनु आवश्यक हुन्छ।
टासी अहिले त्यही संवेदनहीन आरोपको सिकार भएकी छन्। तर, मुलुकप्रति समर्पितहरूका लागि यस्ता षड्यन्त्रसँग लड्नु मात्र पर्याप्त हुँदैन, हाम्रो मुख्य पहिचान या ‘नेपाली नागरिक’ हुनुको दायित्व के हुन्, हाम्रा राष्ट्रिय हित के हुन्, त्यसको जगेर्नामा हाम्रो या नागरिक भूमिका के हुन् र शासकहरूले या नीति निर्धारकहरूले त्यो विपरित जाँदा उनीहरूलाई जवाफदेही बनाउन शिक्षा (सिभिक एडुकेशन) को प्रसारको शैली र संयन्त्र कस्तो हुनुपर्छ यीबारे सचेत नागरिकले नै मार्ग दर्शन गर्नुपर्छ, गरेर अनि बोलेर।
छाती र टाउकोमा ताकेर ठामका ठाम १९ र पछि ७० भन्दा बढी राष्ट्रका भविष्य युवाको हत्या हुँदासमेत जवाफदेही नलिने प्रधानमन्त्री र सत्ता गठबन्धन अहिले लखेटिनुले प्रतिक्रियामै भए पनि नागरिक दायित्व सामूहिक रूपमा सचेत र संगठित भएको अर्थ लाग्छ।
तर ‘जेनजी’ का नाममा हुन थालेका आतंक र आपराधिक गतिविधिले सम्भावित विकल्प बढी भ्रष्ट, अविश्वसनीय तथा जनतालाई निराश बनाउने खालका देखिनु थप चिन्ताजनक अवस्था हो।
यदि भ्रष्ट र गैरजवाफदेही सत्ताको उत्तराधिकारी सरकार र त्यसलाई प्रभावित गर्ने ‘जेनजी’ विदेशी एजेन्डा र शक्तिबाटै परिचालित रहेछन् भन्ने अवस्था सिर्जना भए भने त्यसले मुलुकको सामूहिक आत्मविश्वास र समग्र राष्ट्रहितमा सामूहिक आत्मनिर्णयको राष्ट्रिय क्षमतामा पनि आशंका उत्पन्न गराउँछ।
नागरिकको सामूहिक आत्मनिर्णयको क्षमतामा अविश्वास बढ्दा त्यसले सार्वभौमसत्ताप्रतिको हाम्रो दायित्वलाई पनि प्रतिकूल रूपमा असर गर्नेछ। र, बाहिरी हस्तक्षेपको ढोका अझ फराकिलो बन्न जान्छ त्यसवेला।
०६३ यताको राजनीतिक परिवर्तनमा हाम्रा १२ बुँदेका हस्ताक्षरकर्ता नेताले वास्तवमा सार्वभौमसत्ताविरोधी अपराधमा लाग्दा पनि नागरिक जमातले उनीहरूलाई शंकाको सुविधा लामो समयसम्म दिइरहेकाले यो परिस्थिति उत्पन्न भएको हो।
वैशाख ११ (२०६३) को श्री ५ ज्ञानेन्द्रको घोषणामार्फत नेपाली जनता मुलुकको सार्वभौमसत्ताका एकल स्रोत बनेका हुन्। तर, कस्तो विडम्बना! सार्वभौम जनताका जवाफदेहीविहीन र निरंकुश प्रतिनिधिको स्वघोषित हैसियतमा १२ बुँदे नेताहरूले मुलुकको आन्तरिक राजनीतिका एजेन्डा भारत र पश्चिमा मुलुकलाई लेख्न लगाए।
गणतन्त्र र धर्म परिवर्तनमा छेकबार नहुने धर्मनिरपेक्षता, हिन्दू समाजलाई विखण्डित गर्ने धर्मनिरपेक्षता र एउटा अर्को धर्मको आधिपत्य स्थापित गर्ने धर्मनिरपेक्षता, नेपालीहरूमाथि लादियो। गिरिजाप्रसाद कोइरालादेखि माधव नेपाल, बाबुराम भट्टराई, प्रचण्ड, झलनाथ खनाल, सुशील कोइराला, खिलराज रेग्मी, शेरबहादुर देउवा, केपी ओलीसम्मले यी एजेन्डा मात्र हैन, त्यसमा अन्तर्निहित बाह्य षड्यन्त्रलाई साथ दिए।
नेपाली जनताको सार्वभौम हैसियत खोस्न र बाह्य दलाली गर्ने नेतालाई सिद्धान्ततः र व्यवहारतः देशभक्त र राष्ट्रप्रेमी भन्ने अवस्था छैन।
उनीहरूका आचरण र शासन शैलीलाई केलाउँदा यसलाई सप्रमाण पुष्टि गर्न सकिन्छ। ७० भन्दा बढी युवा अर्थात् देशका भविष्यको नरसंहार राज्यद्वारा हुँदा आँसु नझर्ने र प्रायःश्चित स्वरुप सार्वजनिक जीवनबाट अवकाश लिन नसक्नुले तीन ठूला दलका प्रमुख नेताहरूले र १२ बुँदे शक्तिहरूका नेतृत्व पंक्ति नैतिक रुपमा निर्जीव देखिनेले के सावित गर्छ? अब जनताले बुझेका छन्।
यति मात्र हैन, दलकै कार्यकर्ताले पनि बुझ्न थालेका छन्। तर, एउटा सन्दर्भ या शर्तमा नेताहरूलाई नयाँ रुप या अवतारमा भूमिका खेल्न दिइनुपर्छ। लोकतन्त्र आयातीत चरित्र र मान्यताको व्यवस्था हैन। समाजका गौरवशाली सकारात्मक र मौलिक तथा नैतिक पक्ष र आवरणलाई यी शासकले अँगाल्न सके त्यसले प्रजातन्त्रलाई शुद्ध र विश्वसनीय गराउन सक्छ।
यो समाजमा अंगुलिमालले बुद्धको शरण लिएको र बुद्धले उसलाई आफ्ना शिष्यका रुपमा स्विकारेको दृष्टान्त छ। यो समाजमा रत्नाकरको पूर्व रुपलाई बिर्सिएर उनलाई महर्षि वाल्मीकिका रूपमा स्वीकार गरेको दृष्टान्त छ।
गल्तीबाट सिक्नेहरू महान् हुन सक्छन्। ओली, देउवा, प्रचण्ड तथा १२ बुँदेशका शक्तिसँग अंगुलीमाल र रत्नाकरको उदाहरणबाट सिक्ने अवसर छ। कृष्णप्रसाद सिटौलासँग पृथ्वीनारायण शाहको शालिकमुनि या गोरखनाथ मन्दिरमा राष्ट्रघातप्रति प्रायःश्चित गर्न कसैले रोक्न सक्दैन।
गल्तीबाट सिक्नेहरू महान् हुन सक्छन्। ओली, देउवा, प्रचण्ड तथा १२ बुँदेशका शक्तिसँग अंगुलीमाल र रत्नाकरको उदाहरणबाट सिक्ने अवसर छ।
कृष्णप्रसाद सिटौलासँग पृथ्वीनारायण शाहको शालिकमुनि या गोरखनाथ मन्दिरमा राष्ट्रघातप्रति प्रायःश्चित गर्न कसैले रोक्न सक्दैन।
उनले राजा ज्ञानेन्द्रलाई मात्र धोखा दिएनन्, बाह्य शक्तिको एजेन्डामा मुलुक र नेपालीको सामूहिक आत्मनिर्णको अधिकारप्रति गद्दारी गरे।
१२ बुँदेका शक्तिहरू हाल सत्ताबाट बढारिएका छन्, जेनजी आन्दोलनको पृष्ठभूमिमा। तैपनि एउटा प्रश्न उठ्छ, विस्थापित भए पनि के तिनीहरूलाई नेपाली जनताले राजनीतिबाट निषेध गरेको अवस्था हो?
२०६३ मा श्याम सरणको उग्र हस्तक्षेपकारी व्यवहारले नेपाली जनताको सामूहिक आत्मनिर्णयको अधिकारलाई अवमूल्यन मात्र गरेको थिएन, उनको आफ्नै स्विकारोक्तिअनुसार भारतका प्रधानमन्त्री मनमोहन सिंहको दुई खम्बे नीति, संवैधानिक राजतन्त्र तथा बहुदलीय संसदीय प्रजातन्त्रप्रतिको समर्थनलाई समेत अस्वीकार गर्न उनको परिभाषा अनुसारको नेपाली राष्ट्रवादी नेतालाई प्रयोग गरेका थिए।
अर्थात् नेपालका अग्रगामी, प्रगतिशील र आमूल परिवर्तनकारी शक्ति त्यसवेला आफूलाई नेपाली जनताभन्दा बाह्य शक्तिका आदेशपालकका रूपमा प्रस्तुत हुन रुचाए।
यस अर्थमा अहिलेका सर्वसत्तावादी र १९ सालको शासनमा जनविरोधी भ्रष्ट र बाह्य शक्तिपरस्त नेताहरूलाई अंगुलीमलबाट बुद्ध र रत्नाकरबाट वाल्मीकिमा रुपान्तरण हुन र आफ्नो रुपान्तरणको प्रक्रिया या अनुभवबाट नेपाली जनतालाई प्रेरित गर्ने अवसर मरिसकेको छैन।
तर, अंगुलीमल या रत्नाकरकै भेषमा शासनको निरन्तरता पाउनेबारे उनीहरूले सोच राख्न मिल्दैन। खासगरी, ओलीले यो कुरा बुझ्न ढिलो गर्नु हुँदैन।
यस्तो पृष्ठभूमिमा भ्रष्टाचार रोक्न अभिव्यक्तिको थलो बनेको सामाजिक सञ्जालमाथिको प्रतिबन्ध हटाउन संगठित रूपमा सडकमा उत्रेको ‘जेनजी’ को दायित्व के? असफल १२ बुँदे शक्तिकै अनुसरण गरेर उनीहरूजस्तै उनीहरूको विकल्प बन्ने कि भ्रष्टाचार, ढिलासुस्ती अनि बाह्य गोटीजस्ता देशघाती प्रवृत्तिलाई पराजित गर्न चरित्रवान् शक्ति र दबाब समूह अनि परिआएमा राजनीतिक शक्ति पनि बन्ने।
इतिहासबाट सिक्ने कुरा धेरै छन्। पञ्चायत व्यवस्थामा धेरै विकास भए, आर्थिक रुपमा र प्रगतिशील सामाजिक नीति कार्यान्वयनका हिसाबले। राजा महेन्द्रका समयमा जस्तै राजा वीरेन्द्रको शासनमा विकासका कामले निरन्तरता पाए। राजा ज्ञानेन्द्रसम्म आइपुग्दा पनि मुलुकको सार्वभौमसत्तामा आँच आउन पाएन।
राजसंस्थामा हठ गरेर र जनता मारेर पनि टिक्छु भन्ने मानसिकताविपरीत नारायणहिटी त्यागे तर मुलुकभित्रै बसेर राजा ज्ञानेन्द्रले राजसंस्थाको औचित्य र सान्दर्भिकतालाई कहिल्यै मर्न दिएनन्। ओलीले ‘जेनजी’ आन्दोलनलाई जसरी पनि दबाएर सत्तामा सेनाको सहयोगबाट बसिरहन गरेको प्रयास र राजा ज्ञानेन्द्रको त्यो मर्म र मान्यता बुझ्न सहज हुन्छ।
अहिले पनि दलहरूले साझा एजेन्डा नबनाएसम्म राजसंस्था पुनःस्थापना प्रभावकारी नहुने उनको वर्तमान सोचलाई जेनजीले कसरी हेर्छ, त्यो भविष्यको गर्भमा छ। तर, जेनजी यो विषयमा संवेदनहीन हुन मिल्दैन। जेनजी यदि देशलाई माया गर्छ, मुलुकको सार्वभौम सत्ता अटल र सनातन रहोस् भन्ने चाहन्छ, आयातीत एजेन्डालाई अस्वीकार गरी मुलुकको भविष्य सुनिश्चित गर्न चाहन्छ भने यो अवसर हो।
जेनजीमा कति समझदारी र इतिहासबाट सिकी वर्तमान तथा भविष्य निर्माणको चेतना र ‘भिजन’ छ, त्यसमा धेरै कुरा निर्भर गर्छ। एनजिओको आवरणमा छद्म नागरिक समाज तथा निषेधको राजनीतिबाट सत्तामा एकाधिकार जमाएका १२ बुँदे शक्तिले स्थापित गरेको मूल्यलाई अस्वीकार गर्नु आजको आवश्यकता हो तर राजनीतिक स्थायित्व र राजनीतिमा व्यापक स्वामित्वका लागि ती शक्तिका नेतृत्वलाई दण्डित गर्ने तर ती शक्ति या राजसंस्थालगायत कुनै पनि शक्तिलाई निषेध नगर्न उदार समावेशी चरित्रलाई अपनाउनु पनि जेनजीको दायित्व हुनुपर्छ।