
- हिल्सा नाकाबाट मानसरोवर कैलाशको दर्शन गर्ने तीर्थयात्रीको संख्या ६ हजार ४ सय ७ पुगेको छ।
- चिसोको कारण यस वर्षको मानसरोवर यात्राका लागि भारतीय तीर्थयात्रीसमेत ५९५८ मा सीमित भए।
- स्थानीय किसानले उत्पादन गरेको तरकारीको राम्रो खपत भई होटल व्यवसायीले दशदेखि साठी लाखसम्म कमाई गरेका छन्।
हुम्ला – नेपाल र चीनको सिमाना हिल्सा नाका भएर मनसरोवर कैलाशको दर्शन गर्ने धार्मिक पर्यटकको संङ्ख्या ६४ सय नाघेको छ। काठमाडौँ, नेपालगञ्ज हुँदै हुम्लाको सिमकोटबाट हिल्सा भएर मानसरोवर कैलाशको तीर्थयात्राका लागि वैशाखदेखि असोज २१ गतेसम्म ६ हजारभन्दा बढीले दर्शन गरेका हुन्।
सिमकोट विमानस्थलबाट हेलिकोप्टरमा हिल्सा हुँदै मानसरोवर कैलाश दर्शन गर्न जाने यस वर्षका लागि यात्रा सकिँदा ६ हजार ४ सय ७ जना भारतीय तथा अन्य देशका धार्मिक पर्यटकले यात्रा गरेको प्रहरी नायव उपरीक्षक शंकर पोरखेलले बताए।
सिथिल बनेको पर्यटन क्षेत्र केही उकासिँदै गरे पनि चिसो बढ्दै जाँदा भारतीय तीर्थयात्रीको यस वर्षको मानसरोवर कैलाश यात्राको समय सकिएको भन्दै पाँच हजार ९ सय ५८ जना भारतीय र बाँकी ४ सय ४९ जना अन्य देशका पर्यटक रहेको उनले बताए।
काठमाडौँ, नेपालगञ्ज हुँदै हुम्लाको हिल्सा भएर मानसरोवर जाने तीर्थयात्रीको यस वर्षका यात्रा सकिए पनि कोरोना संक्रमणपछि भारतीय तीर्थयात्रीको संख्या बढेको कैलाश ट्राभल प्रतिनिधि बिष्णु रावतले बताए।
होटल ब्यवसायी मिमबहादुर तामाङले यस वर्ष पर्यटकबाट सदरमुकाम सिमकोट र हिल्साका होटल ब्यवसायीले दशदेखि साठी लाखसम्म कमाइ गरेको बताए। पर्यटकीय सिजनमा किसानको तरकारी पनि राम्रो खपत भएको छ।
पहिलो तरकारी जिल्ला बाहिरबाटै खरिद गरेर ल्याउनुपर्ने भए पनि यस वर्ष स्थानीय किसानले उत्पादन गरेको तरकारी नै राम्रो खपत भएको हो।
चीनले हुम्लाको हिल्सा नाका गत वर्ष वैशाख १८ गतेबाट सञ्चालमा ल्याएको थियो। त्यसपछि २०८२ सालको बैशाखदेखि असोज तेस्रो हप्तासम्म नेपालगञ्ज भएर हुम्ला हुँदै मानसरोवर कैलाश दर्शनका लागि पर्यटक आएका हुन्।