
काठमाडौँ – ओमानमा जारी टी-२० विश्वकप एसिया तथा इस्ट एसिया प्यासिफिक छनोट खेलमा नेपालले सामाओविरुद्ध टस जितेर पहिले ब्याटिङ गर्ने भएको छ।
प्रतियोगितामा एक्लो अपराजित टोली नेपालले सुपर सिक्समा जितविहीन रहेको टोली सामाओविरुद्ध ब्याटिङ गर्ने निर्णय गरेको हो।
आज नेपालले आफ्नो टोलीमा तीन परिवर्तन गरेको छ। आज नेपालले करण केसी र आरिफ शेखलाई जारी छनोटमै पहिलो पटक अवसर दिएको छ। त्यस्तै, ललित राजवंशीले पुनरागमन गर्दा अघिल्लो खेलमा नियमित प्लेइङ ११ मा रहँदै आएका सोमपाल कामी, कुशल मल्ल र आदिल आलमलाई बाहिर राखिएको छ।
ओमानको अल अमिरत क्रिकेट ग्राउन्डमा खेल केही समयपछि सुरु हुनेछ। दुई लाख जनसंख्या भएको यो टापु देश इस्ट एसिया प्यासिफिकलाई पनि छनोटका लागि आइसीसीले एसियन छनोटमै गावेसँगै यो पटक छनोट खेल्न ओमान आइपुगेको थियो।
समूह चरणमा तुलनात्मक रुपमा बलियो मानिएको पपुवा न्युगिनीलाई सनसनीपूर्ण रुपमा पराजित गरेर सुपर सिक्समा पुगेको सामाओले सुपर सिक्समा भने कुनै चमत्कारी प्रदर्शन गर्न सकेन।
नेपालले आजको खेलमा जित निकाले उपाधि जित्ने छ। नेपालको खेलअघिसम्म ओमान पुनः शीर्ष स्थानमा उक्लिएको छ। तर, नेपालले जितेमा ओमान अंककै आधारमा पछि पर्नेछ।