
काठमाडौँ – भाद्र २३ र २४ को घटनासम्बन्धी जाँचबुझ आयोगले तत्कालीन गृहसचिव गोकर्णमणि दुवाडीलाई ७ दिनका लागि काठमाडौँ उपत्यका बाहिर जान अनुमति दिएको छ।
आयोगको शुक्रबार बसेको बैठकले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट प्राप्त पत्रमाथि छलफल गर्दै उक्त निर्णय गरेको हो। तर, उनको विदेश भ्रमणमा लगाइएको रोक भने कायमै रहेको आयोगले जनाएको छ।
दुवाडीले मन्त्रिपरिषद्को २०८२ असोज ५ गतेको निर्णयानुसार भदौ २३ र २४ गतेको जेन्जी पुस्ताको आन्दोलनको क्रममा भएको सार्वजनिक तथा निजी सम्पत्तिको क्षतिको मूल्याङ्कन गर्न र सार्वजनिक संरचनाको पुनर्निर्माण योजना तयार गर्न गठित समितिको संयोजकको हैसियतले सातै प्रदेशमा स्थलगत अवलोकन भ्रमण गर्नुपर्ने भएकाले आयोगले लगाएको उपत्यका छाड्न नपाउने र विदेश भ्रमणमा रोकको फुकुवाको लागि अनुरोध गरेका थिए।
आयोगले उनी आन्दोलनको क्रममा गृह मन्त्रालयको सचिवको हैसियतले गरेको कामको सम्बन्धमा आयोगको छानबिनको दायरामा रहेकाले बयानका लागि कुनै पनि समयमा उपस्थित हुनुपर्ने शर्तसहित उपत्यका छाड्न ७ दिनसम्मको जानकारीसहितको अनुमति दिएको छ।