- टियू मैदानको विकाससँगै नेपाली क्रिकेटले आधुनिक र सुविधासम्पन्न संरचनामा नयाँ उचाइ हासिल गरिरहेको छ।
- पारस खड्काले टियूको बदलिँदो स्वरुप र अन्तर्राष्ट्रिय मान्यतालाई नेपाली क्रिकेटको महाअभियानको रूपमा शक्तिशाली मान्दछन्।
- नेपाल प्रिमियर लिगको सफलताले देशमा क्रिकेटको लोकप्रियता बढाउँदै विकासलाई नयाँ गति दिएको छ।
काठमाडाैँ – आधुनिक संरचनाले टियू मैदान कीर्तिपुरको पुरानो ‘विरासत’लाई सुखद विस्मृत बनाउँदै गर्दा नेपाली क्रिकेटले लामो बाटो तय गरिसकेको छ। यहाँसम्मको यात्रामा धेरै घुम्ती र सपना तयार मात्र भएनन्, पूरा हुँदै अघि बढिरहँदा हाम्रा सपना फराकिलो बनेका छन्।
जसरी नेपाली क्रिकेटका सपना फेरिंदै गए तर टियू मैदानको अवस्था फेरिएन। जसले मैदानका नियमित र वर्षौ पुराना दर्शकका लागि चौरी नै मिठो स्मृति बनिरहे। तर, पछिल्लो समय टियू मैदानमा भइरहेको परिवर्तनले पुराना क्रिकेट समर्थक जसले क्रिकेट बुझेर या नबुझेरै पनि चौरमा बसेर, रुखका हाँगामा बसेर, अनि खेतका आलीमा उभिएर क्रिकेटलाई माया गरिरहे, ती समर्थक अहिले मैदान पुग्दा ‘नोस्टालजिया’ मा हराउन पुग्छन्।
आफ्नो पुरानो मैदान परिवर्तन हुँदै गर्दा मनमा ‘चसक्क’ त पार्छ तर फेरि पनि सुविधा सम्पन्न रङ्गशालामा बसेर क्रिकेट हेर्ने समर्थकको चाहना पूरा हुँदै गर्दा पुलकित बनाउँछ।
पक्कै पनि वर्षौ पुरानो विरासत बोकेको टियू मैदान १० हजार दर्शक क्षमताका सिटले भरिभराउ भइसकेको छ। अझ महत्वपूर्ण सपना त ‘फ्लडलाइट’ को उज्यालोमा अब दर्शकले टियू मैदानमै नेपाली क्रिकेटको अन्तर्राष्ट्रिय स्वाद चाख्न पाउने समय धेरै टाढा छैन।
आफ्नो २५ वर्षे क्रिकेट करिअरमा सबैभन्दा धेरै टियू मैदानको भुक्तभोगी क्यान सचिव तथा पूर्व कप्तान पारस खड्का नै हुन्। उनले खेल जीवनदेखि क्यान पदाधिकारीको भूमिकासम्म निभाउँदै गर्दा टियू मैदान नै उनको ‘जीवन’ बनेको छ।
पहिलो पटक टियूलाई फरक स्वरुपमा बदल्ने प्रयास आफ्नो कार्यकालमा गर्दै गर्दा उनको मात्र प्रयासले सायदै टियू बदलिन्थ्यो। उनकै भनाइमा बदल्ने साहस र आँट फेरि पनि नेपाली समर्थक र खेलाडीको निरन्तरको मिहिनेत र सफलताले मात्रै सम्भव भएको हो।
पारस बदलिंदो क्रिकेट सपनासँगै टियू क्रिकेटको बदलिएको स्वरुपले अब नेपाली क्रिकेट नयाँ उचाइमा पुग्ने विश्वास राख्छन्। उनी भन्छन्, ‘समर्थकहरुले वर्षैसम्म चौरमा बसेर साथ दिनुभयो। कति आएर केही क्षण बस्न पाउनुभयो, कसैले घन्टौं उभिनुपर्यो। तर अब जो जति मैदानमा आउनुहुनेछ। उहाँहरुले बसेरै क्रिकेटको आनन्द लिन पाउनु हुनेछ।’
यद्यपि, उनी क्रिकेट समर्थकका लागि १० हजार क्षमता सीमित मान्छन्। त्यसैले सुविधा सम्पन्न र धेरै दर्शक क्षमताको रङ्गशालाको यात्रामा नेपाल अब अघि बढेको बताउँछन्। उनी भन्छन्, ‘अहिले पनि सबै दर्शकको चाहनाअनुसार हामी टियू मैदानमा स्वागत गर्न सक्दैनौं। जो जति आएर हेर्न पाउनुहुन्छ उहाँहरुलाई स्वागत छ। अनि ज-जसले आउन चाहेर पनि पाउनुहुन्न उहाँहरुले टिभि तथा मोबाइलबाट हेरेर हामीलाई साथ दिनुहुने विश्वास छ।’
उनले लगातार दोस्रो पटक नेपाल टी-२० विश्वकपमा प्रवेश गर्दै गर्दा टिम फुल म्यामबर (टेस्ट राष्ट्र) बन्ने अभियानको महत्वपूर्ण खुड्किलो उक्लिरहेको बताउँछन्। उनी भन्छन्, ‘हामी सबैको सपना टेस्ट राष्ट्र बन्ने हो। अब त्यसका लागि सबैले अहिले जस्तै एकताबद्ध भएर मिहिनेत गर्नु पर्छ।’
जसरी पहिले हाम्रा सपना डिभिजन स्तरमा जित निकाल्दै एकदिन एकदिवसीय मान्यता र टी-२० अन्तर्राष्ट्रिय मान्यता पाउने थिए। ती सपना अब हाम्रा नियमितता भएका छन्। यद्यपि, यी उपलब्धि जोगाउने चुनौती त छँदै छ। तर हाम्रा सपनाका दायरा फराकिलो बनेका छन्। अब हामी ‘टेस्ट राष्ट्र’ बन्नका लागि अघि बढिरहँदा ती सपनालाई पूरा गर्ने विश्वास अब नेपाली टिमसँग गर्न सक्ने भएका छौं।
पारस भन्छन्, ‘हामीले टेस्ट टोली वेस्टइन्डिज सँग टी-२० सिरिज जित्यौं। अब अन्य टेस्ट टोलीसँग पनि हामी खेल्न सामर्थ्य राख्छौं। यसले हामीलाई टेस्ट राष्ट्र बन्ने अभियानमा साँचिकै ठूलो साथ मिल्नेछ। यसले हाम्रो ‘फुल म्यामबर’ बन्ने सपना साकार हुनेछ।’
विश्वकपको यो लगातारको यात्राले नेपाली क्रिकेट टिमले आफ्नो अभियान र निरन्तरको समर्पणबाट प्राप्त भएको सफलताका रुपमा लिन्छ नै ! साथमा अब भौतिक रुपमा समेत नेपाल बलियो हुनुपर्ने र त्यसमा राज्य पनि अहिले अगाडि आएको पारसको बुझाइ छ।
उनी भन्छन्, ‘अहिले क्रिकेटको संरचना विकास गर्नु भनेको क्रिकेट संघको मात्र होइन जो जति नेपाल सरकारमा आए तिनीहरुको सफलताको मापक बन्ने महत्वपूर्ण आधारसमेत बनेको छ।’
पक्कै पनि मैदान बनाउने शिलान्यासदेखि अब उद्घाटनसम्म आइपुग्दा सरकार निरन्तर परिवर्तन भए तर टियू मैदानको गति रोकिएन। यसले देखाउँछ कि अब कसैले पनि क्रिकेट संरचना र विकासमा अवरोध गर्न सक्दैन।
त्यही गति र स्पिडअनुसार अहिले टियू मैदानमा संरचना बनिरहेका छन्। ६ वटा फ्लडलाइटका पोल ठडिने मैदानमा ४ वटाले आकार ग्रहण गरिसक्दा बाँकी दुईवटा ठडिने क्रममा छन्। जुन गतिमा काम भइरहेको छ। त्यसमा अवरोध नआएका होइनन् प्राकृतिक रुपमा हिलो र दलदलले समस्या खडा नभएका होइनन् तैपनि सबै अवरोध चिर्दै एक महिनाभित्र रङ्गशाला तयार गर्न कसिएका छन् निर्माण व्यवसायी। यस्तोमा क्यान पदाधिकारीहरु निरीक्षणका लागि पुगिरहन्छन् कीर्तिपुर।
सबैभन्दा महत्वपूर्ण र नेपाली क्रिकेटको पर्वका रुपमा स्थापित हुने क्रममा रहेको नेपाल प्रिमियर लिग (एनपिएल) को दोस्रो संस्करण फ्लडलाइट सहितको आधुनिक रङ्गशालामा गराउने प्रयासलाई सार्थक बनाउन सबै लागिपरेको पारस बताउँछन्। उनी भन्छन्, ‘सबैले आफ्नो ठाउँ र क्षेत्रबाट योगदान दिएको खण्डमा क्रिकेट मात्र होइन, देश नै परिवर्तन हुन्छ।’
उनले नियमित सेड्युलमै अर्थात् १ मंसिरबाटै प्रतियोगिता गर्ने गरी र त्यो समयमा मैदानलाई पूर्ण रुपमा तयार गर्न काम अघि बढाएको बताए। उनले भने, ‘सबै जना तोकिएको समयमै काम सक्न लागेका छौं। अहिलेसम्म नियमित सेड्युलमै एनपिएल गर्ने गरी लागेका छौं।’
राष्ट्रिय टोलीले अन्तर्राष्ट्रिय रुपमा सफलताको नयाँ मानक बनाइरहँदा भौतिक रुपमा समेत नेपाल अब्बल हुने गतिमा अघि बढिरहेको सन्देश प्रवाह भइरहेको छ। टियू मैदानको बदलिँदो स्वरुपमा हाम्रो फेरिएको क्रिकेट सपना अर्थात् टेस्ट मान्यता प्राप्त देश बन्ने महाअभियानमा सिंगो देश एकजुट भएको छ।
समग्रमा टियूको फेरिंदो भौतिक विरासत र एकपछि अर्को अन्तर्राष्ट्रिय सफलताले नेपालको सुन्दर क्रिकेट भविष्यलाई थप उज्यालो बनाइरहेको छ। अब समर्थकले पनि फेरिएको मैदानमा नयाँ सपनासहित घरेलु टी-२० फ्रेन्चाइज देखी अन्तर्राष्ट्रिय नेपाली क्रिकेटको स्वाद लिन पाउने दिन टाढा छैन।