
- कास्की प्रशासनले राति १० बजेपछि देउसी भैलो खेल्न र विस्फोटक पदार्थको प्रयोगलाई रोक लगाएको छ।
- सामाजिक मर्यादा विपरीत कौडा, लङ्गुरबुर्जा खेल्न र अनलाईन ठगीबाट जोगिन सतर्क रहन चेतावनी जारी गरिएको छ।
- चाडपर्वमा चोरीको जोखिमलाई ध्यानमा राखी उच्च सावधानी अपनाउन कास्कीबासीलाई सचेत गराइएको छ।
पोखरा – जिल्ला प्रशासन कार्यालय कास्कीले राति १० बजेपछि देउसी भैलो खेल्न रोक लगाएको छ। नेपाली मौलिकता झल्कने गरी तिहारमा राति १० बजेसम्म देउसी–भैलो खेल्न प्रशासनले अनुमति दिएको हो।
‘जिल्लाको शान्ति सुरक्षाको अवस्थालाई मध्यनजर गरी देउसी भैलो तथा नाचगान जस्ता कार्यहरु गुनासोरहित तवरले भड्किलो र अशोभनिय नहुने गरी, सार्वजनिक सवारी आवतजावत र जनजीवनलाई असर नपर्ने गरी नेपाली मौलिकता झल्कने, मर्यादित, अनुशासित र शान्तिपूर्ण रुपमा राति १०ः०० बजे सम्म मात्र खेल्नुहोला’, प्रसाशनले भनेको छ।
शुक्रबार सूचना जारी गर्दै कास्कीका सहायक प्रमुख जिल्ला अधिकारी कुलशेखर अर्यालले तिहारमा भुईचम्पा, पटका, आतिसबाजी जस्ता विष्फोटक पदार्थको आयात, ओसारपसार, विक्रि वितरण र प्रयोगमा समेत रोक लगाइएको जानकारी गराएका छन्।
सामाजिक जनजीवन, सार्वजनिक मर्यादा र शान्ति खलल पार्ने कानून विपरित कौडा, गोटी, लङ्गुरबुर्जा खेल्नसमेत प्रशासनले निषेध गरेको छ। अनलाईन माध्यमबाट हुनसक्ने अबैध कारोबार र ठगीबाट बच्न उच्च सतर्कता अपनाउन प्रशासनले अनुरोध गरेको छ।
सार्वजनिक सवारी सञ्चालक व्यवसायीले यात्रु तथा सामानको सुरक्षालाई मध्यनजर गरी सवारी आवागमनलाई व्यवस्थित, सहज र प्रभावकारी तवरले सञ्चालन गर्ने व्यवस्था मिलाउन प्रशासनको अपिल छ।
चोरीबाट बच्न पनि प्रशासनले कास्कीबासीलाई सचेत बनाएको छ। ‘चाडपर्वको समयमा चोरी, ठगी, डकैती लुटपाटका घटना बढ्न सक्ने हुँदा उच्च सावधानी अपनाउनु हुन र कहीँ कतै टोल छिमेकमा कानून विपरत शंकास्पद गतिविधिहरु भए गरेको पाइमा स्थानीय जनप्रतिनिधि, प्रहरी वा जिल्ला प्रहरी कार्यालय, कास्कीमा खबर गर्नुहुन’, सूचनामार्फत आह्वान गरिएको हो।
व्यवसायिक प्रतिष्ठान, होटल रेष्टुरेण्ट तथा मनोरञ्जनात्मक स्थलले आफ्नो व्यापार सञ्चालन गर्दा तोकिएको समयसीमा र मापदण्ड पालना गर्न सूचित गराइएको छ। अटेरी गरी नियम पालना नगरेमा कानुन बमोजिम कारबाही गर्ने प्रशासनले चेतावनि दिएको छ।