
काठमाडौँ – ओमानमा जारी टी-२० विश्वकप एसिया तथा इस्ट एसिया प्यासिफिक छनोटमा नेपाल अपराजित रहँदै च्याम्पिय बनेको छ। अन्तिम खेलमा नेपालले सामाओलाई १ सय २४ रनको फराकिलो अन्तरले पराजित गर्दै तालिकाको शीर्ष स्थानमा रहेर उपाधि जितेको हो।
टस जितेर पहिले ब्याटिङ गरेको नेपालले निर्धारित २० ओभरमा ४ विकेट गुमाएर २ सय ११ रन बनाएको थियो। जवाफमा सामाओ पुरै २० ओभर खेले पनि नेपालको कसिलो बलिङसामु ७ विकेट गुमाएर ८७ रन मात्र बनाउन सक्यो।
सामाओका लागि ओपनर सिएन सोलीयाले ३७ बलमा २ चौका र १ छक्काको सहयोगमा ४० रन बनाउनु सर्वाधिक रह्यो। उनीबाहेक बेनजामिन माइलाटाले ११ रन थप दोहोरो स्कोरका रुपमा रह्यो।
नेपालका लागि ललित राजवंशीले ३ विकेट लिँदा सन्दीप लामिछाने, करण केसी र रोहित पौडेलले समान १-१ विकेट लिए।
त्यसअघि पहिले ब्याटिङ गरेको नेपालको उच्च स्कोरमा आसिफ शेख र दिपेन्द्र सिंह ऐरीले अर्धशतकीय इनिङ्स खेले। शेखले ४१ बलमा ७ चौका र ४ छक्काको सहयोगमा ६९ रन बनाउँदा ऐरीले ३३ बलमा २ चौका र ४ छक्काको सहयोगमा ५३ रन बनाए।
त्यस्तै, रोहित पौडेलले २१ रन बनाउँदा लोकेश बमले १२ बलमा २ चौका र ४ छक्काको सहयोगमा ३९ रनको विष्फोटक अविजित इनिङ्स खेले। उनीबाहेक कुशल भुर्तेलले १७ रन बनाए भने आरिफ शेख ९ रनमा आउट भए। सामाओका लागि ड्यानील बुर्गेस, साउमनाइ टियाइ, दरिउस भिसेर र नोड मेडले १-१ विकेट लिए।
नेपाल अपराजित बन्दै च्याम्पियन बन्ने क्रममा समूहचरणमा कुवेतलाई ५८ रनले हराएको थियो भने अर्को खेलमा जापानमाथि ५ विकेटको जित निकालेको थियो।
त्यस्तै, सुपर सिक्समा युएईमाथि १ रनको रोमाञ्चक जित निकाल्दा कतारलाई ५ रन र ओमानमाथि ३८ रनको जित निकालेको थियो। अन्तिम खेलमा नेपालले सामाओलाई १ सय २४ रनले पराजित गर्दै अपराजित रहेर च्याम्पिपयन बनेको हो।