
- साविक उपविजेता सहलेश युथ क्लब र प्लानिंग ब्वाईज युनाइटेडबीच गोल्डकपको उपाधिका लागि शनिबार खेल हुनेछ।
- सहलेशले जिल्ला फुटबल संघ भोजपुरलाई १-० ले पराजित गर्दै फाइनलमा प्रवेश गरेको हो।
- भोजपुरका योगेन कार्की दोहरो पहेलो कार्ड पाएपछि सहलेशले दबाव बनाएर जीत हासिल गरेको थियो।
मोरङ – मोरङको बेलबारीमा जारी मेजर स्वर्गीय एनबी रुङमाहाङ अन्तराष्ट्रिय आमन्त्रण रनिङ गोल्डकपको उपाधिका लागि साविक उपविजेता सिरहाको सहलेश युथ क्लबले बी डिभिजन क्लब विजेता प्लानिंग ब्वाईज युनाइटेडबीच हुने भएको छ।
पहिलोपटक गोल्डकपमा सहभागिता जनाएको प्लानिंग र साविक उपविजेता सहलेशबीच शनिबार उपाधि भिडन्त हुनेछ। यसअघि, गोल्डकप अन्तर्गत शुक्रबार भएको दोस्रो सेमीफाइनलमा सहलेशले जिल्ला फुटबल संघ भोजपुरलाई १ शुन्यले पराजित गरेको थियो। दोस्रोपटक गोल्डकपको फाइनलमा प्रवेश गरेको सहलेशका लागि खेलको अन्तिम मिनेटमा सुजन डंगोलले गरेको गोल नै निर्णायक बनेको थियो। प्रतिस्पर्धात्मक बनेको सेमीफाइनलमा दुवै टोलीले गोलका लागि अवसरलाई सदुपयोग गर्न सकेका थिएनन्।
खेलको २५ औं मिनेटमा सहलेशका लागि डिबक्स नजिकबाट मिलन राईले गरेका प्रहार पोष्ट बाहिर भएको थियो। त्यसैगरि, भोजपुरका श्याम मुर्मुले पनि गोलका लागि अवसर पाएका थिए। पहिलो हाफमा दुवैटोली गोलरहित बराबरीमा रोकिएका थिए। यद्धपि, खेलको ५७ औं मिनेटमा भोजपुरका योगेन कार्की दोहरो पहेलो कार्ड पाएर मैदान बाहिर भएका थिए। १० जनामा सीमित बनेको भोजपुरलाई त्यसपछि सहलेशले दबावमा राखेको थियो। जित हात पारेको सहलेशका लागि विवेक राई म्यान अफ दि म्याच भए।

Screenshot