
- काठमाडौँमा सुविन भट्टराईको सातौँ कृति कथासंग्रह ‘चमेलीको फूल बैजनी रुमाल’ सार्वजनिक गरिएको छ।
- कार्यक्रममा लेखकले आफ्नो कथाहरूमा प्रेम, मनोविज्ञान र विभिन्न रङहरूको छिटाहरू सम्बन्धित विषयवस्तु समेटेको बताए।
- सुविनले पाठकको माया र रुचिका कारण लेख्न निरन्तर सफल भएको र आगामी दिनमा सिनेमा निर्माणको महत्वाकांक्षा पनि देखाए।
काठमाडौँ- युवा पुस्तामाझ लोकप्रिय लेखक सुविन भट्टराईको सातौँ कृति कथासंग्रह ‘चमेलीको फूल बैजनी रुमाल’ सार्वजनिक भएको छ ।
प्रज्ञा प्रतिष्ठानको डबलीमा लेखक सुविन र चितवनबाट कार्यक्रमकै लागि भनेर आएकी उनकी प्रशंसक रश्मिला थापाले पुस्तक विमोचन गरेका हुन् ।
पुस्तकको कथाबस्तु विस्तारै खुल्दै जाने बताएको भट्टराईले आख्यान मुलतः मनोविज्ञानसँग सम्बन्धित छ। विमोचनका क्रममा उनले भने, ‘शीर्षकले बैजनी रङलाई चम्काइदिएको भए पनि कथामा सबै रङ छन् । कथामा फरक फरक रङका छिटा परेका छन् । हरेक पात्र आ–आफ्नै रङमा देखिएका छन् ।’
६० को दशकदेखि कथा लेखनमा सक्रिय रहेका भट्टराईको पहिलो कथा संग्रह कथाकी पात्र थियो, जुन प्रेमसँग सम्बन्धित थियो । र दोस्रो कथाको रुपमा उनले लेखक भट्टराईले ‘चमेलीको फूल बैजनी रुमाल’ मार्फत प्रेम, सम्बन्धका रौँचिरा बुनेको छन् ।
साथै, पुस्तकमा मनोविज्ञान, जादुमय शिल्प र नारीमय प्रगतिशीलतासमेत रहेको बताए। कार्यक्रममा एक मात्र वक्ता रहेका उनले यी कथाहरू सिनेमाप्रतिको आफ्नो महत्वाकांक्षाको उपज भएको बताए ।
‘बाल्यकालदेखिको मेरो सिनेमाप्रतिको मोह वयस्कमा आइपुग्दा त्यो पनि हुर्किएर वयस्क भयो । र मभित्रको दर्शकले सिनेमा निर्माण गर्ने महत्वकांक्षा राख्यो,’ उनले भने, ‘सिनेमा बनाइहाल्ने आँट र सीप नभएता पनि सिनेमाजत्तिकै र जस्तै कथाहरू म लेख्न सक्छु भन्ने अठोट मैले सजिलै राखेँ । यी सप्तरंगी कथारू तीनै महत्त्वकांक्षा र लोभका नजिता हुन् ।’
भावनात्मकता,भावुकता,कलेज पढ्ने युवा–युवतीका रोमान्टिक गफगाफ र उनीहरुको आपसी प्रेम कथाभित्रका अनेक अन्तरद्वन्द्वहरुलाई आफ्नो कथाको विषयवस्तु बनाउन भट्टराई भावी दिनमा सिनेमा पनि निर्माण गर्ने बताए ।
आफ्ना कथाहरुमा सरल कथानक र रोचक विषयहरु उठाएका भट्टराईले आफ्ना पठकले अत्यधिक रुचाइदिएकै कारण निरन्तर लेख्न सकेको बताए ।
उनले भने, ‘लेखक बचाउने भनेको पाठकले नै हो । आज म जे छु पाठकको मायाले छु ।’ आलोचना र आत्मसमीक्षाका अनुभवहरू सँगाल्दै साहित्यमा निरन्तर नवीनता खोजिरहेका भट्टराईको किताब किन्न डबलीमा बच्चादेखि वृद्धासम्मको लामो लाइन थियो ।
‘कथाकी पात्र’ कथासंग्रहबाट साहित्य जगत्मा आएका सुविनका यसअघि उपन्यासहरू ‘साया’, ‘समर लभ’, ‘मनसुन’,‘प्रिय सुफी’ र ‘इजोरिया’ उपन्यास प्रकाशित छन् । ‘चमेलीको फूल बैजनी रुमाल’लाई फाइन प्रिन्टले प्रकाशन गरेको हो ।