
काठमाडौँ- वरिष्ठ अधिवक्ता डा. नारायण घिमिरेले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सँगको आफ्नो आबद्धता तोडेका छन्।
पार्टीका कार्यवाहक महामन्त्रीलाई सम्बोधन गरी लेखिएको पत्रमार्फत वरिष्ठ अधिवक्ता घिमिरेले यही आश्विन ३१ गतेदेखि आफू पार्टीमा नरहने जानकारी गराएका हुन्।
उनले केही वर्षदेखि राष्ट्रिय स्वतन्त्र पार्टीको कानून विभाग लगायत अन्य विभागहरूमा कानून, नीति, नियमावली र पार्टीको विधान मस्यौदा कार्यदलमा रहेर योगदान गर्दै आएका थिए।
घिमिरेले खासगरी प्रवासी नेपाली र गैरआवासीय नेपालीसँग सम्बन्धित विद्यमान कानूनको गहन पुनरावलोकन गरी उनीहरूका समस्या समाधान गर्ने कानूनी मस्यौदा तयार पारेका थिए।
गैरआवासीय नेपालीलाई नेपालको विकास निर्माणसँग जोड्ने कानूनी बाटो बलियो बनाउन नागरिकता, लगानी लगायतका कानूनमा संशोधन गर्नु पर्ने सुझाव उनले तयार गरेका थिए। साथै, संविधान र कानूनको संशोधनको पहल गर्न राष्ट्रिय स्वतन्त्र पार्टीले अगुवाई गर्नुपर्ने कुरा उनले उठाउँदै आएका थिए।
रवि लामिछानेको सहकारी मुद्दामा कास्की जिल्ला अदालतमा कानून विज्ञको भूमिका निर्वाह गरेका घिमिरे, अन्य अदालतमा रवि लामिछानेविरुद्ध दायर गरिएका मुद्दाहरूमा भने संलग्न थिएनन्।
संविधान र कानूनको विषयवस्तुमा गहिरो ज्ञान र दखल राख्ने वरिष्ठ अधिवक्ता घिमिरेको पार्टीबाट बाहिरिनुले राष्ट्रिय स्वतन्त्र पार्टीले विषय विज्ञ र योग्य व्यक्तिहरूलाई कुन स्थान र जिम्मेवारीसहितको अवसर दिने भन्ने कुरामा कतै न कतै पहिचान गर्न नसकी चुकेको छ भन्ने सन्देश गएको बुझाइ रहेको छ।