
चितवन- भरतपुर महानगरपालिका–२९ गाइघाटमा सातवटा सवारीसाधन एकआपसमा ठोक्किँदा २१ जना घाइते भएका छन् ।
जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी नायब उपरीक्षक रवीन्द्र खनालका अनुसार आज बिहान ७ः३० बजे उक्त दुर्घटना भएको हो । घाइतेहरूको चितवन मेडिकल कलेज, जनता केयर अस्पताल र नेस्नल सिटी अस्पतालमा उपचार भइरहेको छ ।
मुग्लिङबाट नारायणगढतर्फ आउँदै गरेको ना८ख ६६२९ नम्बरको ट्रक र विपरीत दिशाबाट जाँदै गरेको बा४ख ७४२० नम्बरको बस, बसको पछाडि ना७ख ९६०७ नम्बरको ट्रेलर, त्यस पछाडि बा प्र ०६–००१ ग ०४८४ नम्बरको इलेक्ट्रिक माइक्रो, त्यसपछि ग२ख १६२६ नम्बरको बस, त्यस पछाडि ना३च ३२५६ नम्बरको बलेरो र सबैभन्दा पछाडि बिएबी ८४७० नम्बरको कार एकआपसमा ठक्कर खाएका थिए ।
सवारीहरू ठोक्किँदा घाइते भएकामध्ये १३ जनाको नेस्नल सिटी अस्पतालमा, चार जनाको चितवन मेडिकल कलेजमा र चार जनाको जनता केयर अस्पतालमा उपचार भइरहेको छ ।