
- मोरङको विराट शिक्षण अस्पतालमा न्यूनतम पारिश्रमिक नपाएको भन्दै नर्सहरूले प्रदर्शन गर्दै नयाँ विरामी भर्ना रोकिएको छ।
- अस्पतालका अध्यक्षले पारिश्रमिक वृद्धि गर्न योजना रहेको आश्वासन दिएका छन् तर राज्यको निर्णय पर्खनुपर्ने भनेका छन्।
- ४५० जना बिरामी उपचाररत अस्पतालमा बिरामी हेर्ने र धर्ना बस्ने नर्सलाई जिम्मेवारी बाँड्ने तयारी भइरहेको छ।
मोरङ – मोरङको बूढीगंगा गाउँपालिकास्थित विराट शिक्षण अस्पतालमा न्यूनतम पारिश्रमिक नपाएको र आवश्यक थप सेवा–सुविधाको माग गर्दै कार्यरत स्वास्थ्यकर्मी, नर्सले आन्दोलन गरेका छन्।
अस्पताल परिसरमा शनिबार नर्सहरूले न्यायको माग गर्दै प्रर्दशन गरेका थिए। आन्दोलन बढेसँगै अस्पतालले नयाँ विरामी भर्ना अस्थायी रुपमा रोक लगाएको छ। न्यूनतम पारिश्रमिकको विषयमा लामो समयदेखि आवाज उठाउँदै आएपनि अस्पतालले पुरा नगरेको नर्सहरूको गुनासो छ।
आफूहरूको माग सुनुवाई नभएपछि प्रदर्शनीमा उत्रिनु परेको उनीहरू बताउँछन्। उनीहरूले आफ्ना माग पुरा नहुञ्जेलसम्म काममा नफर्कने र प्रदर्शनीलाई जारी राख्ने बताएकाछन्।
अर्कोतर्फ, अस्पतालका अध्यक्ष डा. ज्ञानेन्द्रमान सिंह कार्कीले भने आफूहरू नर्सको न्यूनतम पारिश्रमिक उपलब्ध गराउन तयार रहेको बताए। अस्पतालमा कार्यरत नर्सको पारिश्रमिक बढ्न नहुने पक्षमा अस्पताल आफैँ पनि नरहेको सञ्चालक डा. कार्कीले बताए।
नर्सहरूको प्रदर्शनीलाई सम्हाल्न पुगेका डा. कार्कीले भने, ‘अस्पतालले कहिले नर्सको तलब बढ्न हुदैन कहिले भनेका थियौ। हामी नर्सको तलब न्यूनतम २४ हजार हुनुपर्छ भन्छौ। हामी तपाईहरूको साथमा छाँै। एक वर्षदेखि पाँच वर्षको ग्यारेन्टि दिनुस अस्पतालले ४५ हजार सम्म उपलब्ध गराउन सक्ने बताएकै हो।’
राज्य भन्दा आफूहरूमाथि नरहेको बताउँदै उनले भने, ‘राज्यले एकमहिनापछि निर्णय गरेपनि हामी यही महिनाबाट तलब उपलब्ध गराउँछौ। राज्यले भन्नु पर् यो नि ? सरकारलाई हामी नै पनि नर्सको तलब बढाउन भन्छौँ, भोलि काठमाडौँ जाँदै छु यसै विषयमा वार्ता पनि गर्छौं।’
आन्दोलनमा रहेका नर्सहरूसँग शुक्रबार वार्ता भइसकेको बताउँदै उनले बिरामी हेर्न ड्युटीमा रहेका नर्स गइदिनुपर्ने र अरु नर्स धर्नामा बसिदिनुपर्नेमा जोड दिए। अस्पतालमा हाल ४ सय ५० जना बिरामी उपचाररत छन्।