
मोरङ – मोरङ प्रहरीले विराटनगरबाट स्रोत नखुलेको साढे ८ लाख नेपाली रुपैयाँ बरामद गरेको छ। जिल्ला प्रहरी कार्यालय मोरङका अनुसार शनिबार दिउँसो इलाका प्रहरी कार्यालय रानीको टोलीले महानगरको वडा नम्बर १२ सैनिक टोलबाट मोरङ जहदा गाउँपालिकाका एक व्यक्तिको साथबाट ८ लाख ४७ हजार रुपैयाँ बरामद गरेको हो।
मोरङ प्रहरी प्रमुख प्रहरी उपरीक्षक कवित कटवालका अनुसार भारतीय सीमा जोगबनीबाट विराटनगरतर्फ आउँदै गरेको बीआर ३८ भी ३३२८ नम्बरको मोटरसाइकललाई शंका लागेर रोकेपछि सो रकम बरामद गरेको हो।
सो मोटरसाइकलमा रकम लुकाएर ल्याउने जहँदाका ४६ वर्षीय नविन साहलाई समेत प्रहरीले नियन्त्रणमा लिएको छ। प्रहरीले गरेको चेकजाँचका क्रममा साहले लगाएको हेलमेटबाट १ हजार दरका ८ सय, त्यसैगरि, ५ सय दरका ५१, १ सय दरका १ सय ४६ र ५० रूपैयाँ दरका १ सय २ थान नेपाली नोट बरामद भएको छ। प्रहरी उपरिक्षक कट्वालले मोटरसाइकलसहित स्रोत नखुलेको रकम र साहलाई नियन्त्रणमा लिएको बताए। बरामद भएको रकम अवैध हुण्डी कारोबारको भएको हुनसक्ने प्रहरीको प्रारम्भिक अनुमान छ।