
काठमाडौँ — बंगलादेशको राजधानी ढाकास्थित अन्तर्राष्ट्रिय विमानस्थलको कार्गो टर्मिनलमा शनिबार ठूलो आगलागी भएपछि सबै उडान अनिश्चितकालका लागि अवरूद्ध भएका छन् ।
विमानस्थलको मुख्य टर्मिनलमा कुनै असर नपरे पनि धावनमार्गमा बाक्लो धुवाँ फैलिएपछि उडानसेवा अवद्ध बनेका छन् । फायर सर्भिसका प्रवक्ता ताल्हा बिन जासिमका अनुसार, आगलागी नियन्त्रणका लागि ३७ अग्निनियन्त्रक युनिटहरू परिचालन गरिएको थियो भने दिउँसो सुरु भएको आगलागी सहजै नियन्त्रणमा नआएपछि थप सुरक्षा बललाई परिचालित गरिएको छ ।
द डेली स्टार पत्रिकाले विमानस्थलका अधिकारीहरूलाई उद्धृत गर्दै उडानहरू अन्य विमानस्थलमा डाइभर्ट गरिएको जनाएको छ ।
अग्निनियन्त्रकहरूले आगोलाई नियन्त्रण गरेसँगै विमानस्थल केही घण्टाभित्रै सञ्चालन सुरु हुने अपेक्षा गरिएको छ।
स्वास्थ्य निर्देशनालयका एक वरिष्ठ अधिकारी मोइनुल असानले कम्तिमा चार जनालाई सामान्य चोटपटक लागेपछि अस्पताल लगिएको बताए । आगलागीको कारण भने खुल्न सकेको छैन ।