
बिजुलीको प्रवेशसँगै माटोका भाँडाको माग घटेको भए पनि मानिसहरू अझै पनि माटोका पाला खोजिरहेको पाइन्छ।
उपभोक्ताको मागअनुसार माटोमा विविधता ल्याएर खुत्रुके, गमला, प्लेट र कप जस्ता भाँडा उत्पादन भइरहेको छ।
युवाहरू माटोको भाँडा बनाउने पेशालाई आधुनिक प्रविधिसँग जोड्दै, माटो र दाउराको अभावसँग जुधिरहेका छन्।
दाङ- आफ्नै नामको जग्गा जमिन थिएन। खेतिपातीको सट्टा माटोको भाँडा बनाउँथे, भाँडा र अन्न साट्थे, अनि बिहान–साँझको छाक टथ्र्थ्यो। यसरी गुजारा चलाएका गढवा गाउँपालिका- ३ खैरा गाउँका टेकबहादुर थारु कुमालले थुप्रै परिवर्तन देखेका छन्। राजनीतिक र सामाजिक मात्र होइन, आफ्नै पेशामा आएको परिवर्तन पनि उनले नजिकबाट देखे, भोगे र गहिरो अनुभव बटुले।
अहिले चाडपर्वको समय छ। तिहारमा घर झिलिमिली पार्ने चलन छ। पहिला माटोका पाला खूब विक्थे र दियो बाल्न त्यही पाला खोज्दै लैजान्थे। तर विजुली आएपछि वत्ति बाल्न पाला आवश्यक नपरेकोले माटोका पाला बन्ने क्रम पनि घट्यो। यद्यपि आज पनि केही मानिस माटोका पाला खोज्छन्, जसका कारण टेकबहादुरले जानेको सीप अझै जोगिएको छ। उनी अहिले पनि माटोको भाँडा बनाएरै गुजारा चलाइरहेका छन्। बजारमा प्लास्टिक र अन्य भाँडाहरू प्रवेश गरेपछि माटोको भाँडाको आकर्षण घटेको हो।
गाउँसम्म व्यापारीले सवारीसाधन पठाउँछन् र त्यही माध्यमबाट माटोका भाँडा बजारमा लैजानिन्छ। टेकबहादुरले भने, “पहिला जस्तो त अहिले छैन। माटोको भाँडाको माग धेरै थियो, भाँडा दिएर अन्न ल्याउने चलन थियो। अहिले व्यापारीले लैजान्छन्, साहूहरूले बेच्ने गर्छन्, हामी बनाउने गर्छौं।”
देउखुरीका थारु कुमालहरूको बस्तीमा अहिले पनि माटोका भाँडा बन्ने गर्छन्। केहीले यस पेशालाई आधुनिक प्रविधिसँग जोडेका छन्। पहिले हातले घुमाउनुपर्ने चर्खा अहिले बिजुली मोटरले चल्ने बनेको छ, जसले श्रम र समय दुवै घटाएको छ। माटो तयार पार्न पनि पहिले धेरै मेहनत गर्नुपथ्र्यो, तर अहिले मेसिनले सजिलै माटो तयार पारिदिन्छ।
भाँडामा विविधता ल्याउने प्रयास पनि भइरहेको छ। उपभोक्ताको मागअनुसार खुत्रुके, गमला मात्रै होइन, भान्सामा प्रयोग हुने प्लेट र कपसमेत बनाइन्छ। माटोको फिल्टर पनि उत्पादन र बिक्री हुँदै आएको छ। युवाहरूको चासो बढ्दै गएको छ। आफ्ना बाउ–बाजेले माटोको भाँडा बनाएको देखेका अनिल थारु कुमाल अहिले आफैं भाँडा बनाउन थालेका छन्। उनले यसपालिको तिहारका लागि दियो बाल्न प्रयोग हुने पाला बजार पुर्याइसकेका छन्।
पहिले एक लघुवित्त संस्थामा काम गरेका अनिल अहिले त्यो काम छाडेर घरमै माटोको भाँडा बनाउने काम गर्छन्। उनी यस पेशाबाट सन्तुष्ट देखिन्छन्। उनले हाँस्दै भने, “आफ्नै गाउँको माटो पाएँ, लाग्यो यही माटोले मलाई नयाँ बाटो देखायो। माटोबाटै भाँडा बनाउँछु।”
युवाहरूले माटोको भाँडा बनाउने काममा बजारको चुनौती पनि देखेका छन्। राम्रो बजार पाउन सके काम गर्न गाह्रो छैन भन्ने उनीहरूको धारणा छ। तर भाँडा बनाउन चाहिने माटोको अभाव देखिन थालेको छ। माटो ल्याउने ठाउँमा भण्डार सकिँदै गएकोले उनीहरू नयाँ स्थानको खोजीमा छन्।
भाँडा पकाउन चाहिने दाउरा पनि सजिलै पाउन मुस्किल भएको छ। रामलाल थारु कुमालले भने, “माटो पाउन मुस्किल छ, त्यसमा पनि दाउरा किन्नुपर्ने बाध्यता छ। दाउरामा सहुलियत भएको भए सजिलो हुन्थ्यो।”