
- ‘डिशहोम सातौँ बाह्रखरी कथा प्रतियोगिता, २०८२’ का लागि कथा पठाउन इच्छुकहरूलाई कात्तिक ३० सम्म इमेल गर्न आह्वान गरिएको छ ।
- निर्णायक समूहमा अशेष मल्ल, मञ्जु काँचुली, र अभय श्रेष्ठ सामेल छन्, जसले २५ उत्कृष्ट कथा छान्नेछन् ।
- प्रतियोगितामा सर्वोत्कृष्ट तीनलाई क्रमशः दुई लाख, एक लाख, र ६० हजार नगद पुरस्कार प्रदान गरिनेछ ।
कथा लेखनको सम्वद्र्धन र प्रवद्धनमा बाह्रखरी मिडियाले विगत ६ वर्षदेखि निरन्तर चलाएको अभियानलाई निरन्तरता दिँदै ‘डिशहोम सातौँँ बाह्रखरी कथा प्रतियोगिता, २०८२’ घोषणा गरेको छ ।
आख्यान साहित्यको सशक्त विधा, कथा लेखनमा स्थापित र नयाँ कथाकारहरूको प्रतिभालाई प्रोत्साहन एवम् पुरस्कृत गर्ने उद्देश्य रहेको यस प्रतियोगितामा आफ्नो रचना पठाउन बाह्रखरी मिडियाले शुक्रबार काठमाडौंमा पत्रकार सम्मेलनमार्फत कथा आह्वान गरेको छ ।
नेपालको कथा लेखन प्रतियोगिताको सबैभन्दा ठूलो पुरस्कार राशि रहेको यस कथा प्रतियोगितामा कात्तिक ३० गतेसम्म सम्पूर्ण प्रतियोगीहरूले इमेल गरेर कथा पठाउनुपर्नेछ । नेपाली भाषाका सर्जकहरूले संसारभरिबाट कथा पठाउन सक्नेछन् ।
‘डिशहोम सातौँँ बाह्रखरी कथा प्रतियोगिता, २०८२’ को निर्णायक समूहमा नाट्यकर्मी तथा साहित्यकार श्री अशेष मल्ल रहनुभएको छ भने सदस्यहरूमा वरिष्ठ कथाकार श्री मञ्जु काँचुली तथा कथाकार श्री अभय श्रेष्ठ छन् ।
बाह्रखरीलाई प्राप्त भएका सबै कथाहरूलाई पहिलो चरणमा बाह्रखरीका विचार सम्पादक श्री गोविन्द अधिकारीको संयोजकत्वको आन्तरिक समूहले छाट्ने काम गर्नेछ । आन्तरिक समूहले प्राप्त भएका कथामध्येबाट ५० कथा निर्णायक समूहलाई उपलब्ध गराउनेछ ।
ती कथाहरूमध्येबाट निर्णायक समूहले प्रथम, द्वितीय र तृतीय कथाका साथै ‘उत्कृष्ट कथा, २०८२’ पुस्तकका लागि थप २२ समेत गरी २५ कथा छानेर पठाउनेछ । निर्णायक समूहको निर्णय नै अन्तिम मानिनेछ ।
अन्तिम चरणसम्म पुग्न सफल उत्कृष्ट २५ कथाको पुस्तक प्रकाशन गरिनेछ ।
प्रतियोगितामा सर्वोत्कृष्ट तीन कथालाई यस वर्षदेखि क्रमशः दुई लाख, एक लाख र ६० हजार रुपैयाँ नगद राशिका साथ पुरस्कार तथा प्रमाणपत्र प्रदान गरिनेछ । यो पुरस्कार राशि विगतका वर्षहरूमा भन्दा बढी हो ।
संग्र्रहमा छापिने बाँकी २२ कथाकारलाई जनही पाँच हजार रुपैयाँ सम्मानस्वरूप प्रदान गरिनेछ ।
गत वर्ष यस प्रतियोगितामा विश्वभरिबाट ९३७ कथा प्राप्त भएको थियो ।
यस वर्षको कथा प्रतियोगिताको नतिजा २०८२ पुस दोस्रो सातासम्ममा एक विशेष समारोहका बीच सार्वजनिक गरिनेछ । सोही दिन कथासंग्रहको पुस्तक ‘उत्कृष्ट कथा, २०८२ को लोकार्पण पनि गरिनेछ ।
गत वर्षझैँ यस वर्ष पनि उत्कृष्ट कथासंग्रह पुस्तकको प्रकाशन फाइनप्रिन्टले गर्नेछ । यस कथा प्रतियोगिताको टाइटल स्पोन्सर डिशहोम डिश मिडिया नेटवर्क रहेको छ ।
उत्कृष्ट कथा, २०८२ को प्रकाशनका लागि प्रकाशन पार्टनरका रूपमा फाइनप्रिन्ट रहेको छ । प्रतियोगिताका अन्य सहयोगी संस्थाहरूमा एनआईएमबी बैंक, युनाइटेड अजोड इन्स्योरेन्स लि।, गोल्यान समूह, वेदालय कन्सट्रक्सन, यती एयरलाइन्स र हिमालयन एयरलाइन्स रहेको छ ।
सर्त तथा नियम
रचना नेपाली भाषामा लेखिएको मौलिक कथा हुनुपर्नेछ ।
अघिल्लो वर्षमा प्रतियोगिताका लागि पठाइएका कथा दोहो¥याएर पठाउन पाइने छैन ।
कथा अप्रकाशित र अप्रसारित हुनुपर्नेछ । नतिजा सार्वजनिक नहुन्जेल प्रतियोगितामा पठाइएको कथा कतै पनि प्रकाशन वा प्रसारण गर्न पाइने छैन ।
छनोटमा परेका कथा अन्य माध्यममा प्रकाशन वा प्रसारण भएको पाइएमा पुरस्कार निलम्बन गरिनेछ ।
यस प्रतियोगितामा भाग लिने उद्देश्यले पठाइएका कथा पुस्तकका रूपमा प्रकाशन भइसकेपछि अन्यत्र प्रकाशन वा प्रसारण गर्न बाह्रखरीसँग पूर्वस्वीकृति अनिवार्य छ ।
कथा कम्तीमा १,५०० शब्द र बढीमा ४,००० शब्दसम्मको हुनुपर्नेछ ।