
- यमपञ्चकको पहिलो दिन काग तिहार पर्वका रूपमा कागलाई मीठा खानेकुरा दिएर पूजासहित मनाइएको छ।
- शास्त्रीय मान्यताअनुसार कागलाई यमदूतको रूपमा पूजा गरिन्छ, जसले यमराजसमक्ष राम्रो सन्देश लगिदिन सक्छ।
- यम यातनाबाट मुक्ति र पारिवारिक कल्याणका लागि यमदीप दान दिने क्रम आज साँझबाट सुरु हुन्छ।
काठमाडौँ- कार्तिक कृष्ण त्रयोदशीका दिन मनाइने काग तिहार पर्व आज यमराजको दूतका रूपमा कागलाई पूजासहित मीठामीठा चीजबीज खान दिएर मनाइएको छ ।
काग तिहार पर्वदेखि नै नेपालीको दोस्रो चाड यमपञ्चक सुरु हुने भए पनि यस वर्ष तिथिको घटबढका कारण शनिबारदेखि नै यमपञ्चक आरम्भ भएको छ । कार्तिक कृष्ण त्रयोदशीदेखि कार्तिक शुक्ल द्वितीया अर्थात् भाइटीकासम्म तिहार मनाउने गरिन्छ ।
यमराजले लोकको खबर कागका माध्यमबाट थाहा पाउने भएकाले कागलाई यमदूतका रूपमा मान्ने शास्त्रीय विधान रहेको धर्मशास्त्रविद् एवं नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका अध्यक्ष प्रा शम्भुप्रसाद ढकालले जानकारी दिए । कागले यमराजसमक्ष राम्रो खबर लगिदियोस् भनेर आजका दिन मीठामीठा खानेकुरा दिइ खुसी पार्ने गरिएको पनि उनले बताए ।
लोक व्यवहारमा काग घरमा आई कराएमा शुभ बोल, शुभ बोल भनी भन्ने प्रचलनसमेत छ । काग घर वरपर आई कराएमा उसले केही खबर लिएर आएको विश्वास गरिन्छ ।
‘काकेन दधि भक्षितम्’ अर्थात् कागलाई दही भात मीठो लाग्ने भएकाले आजको दिन कागलाई दही भात खुवाएमा यमराजसमक्ष राम्रो सन्देश लगिदिन्छ भन्ने मान्यता छ ।
दुष्कर्म गर्नेलाई यमराज भएर दण्ड दिने र सत्कर्म गर्नेलाई धर्मराज भएर रक्षा गर्ने विश्वाससित पनि तिहार पर्व गाँसिएको छ । यम यातनाबाट मुक्तिका लागि परिवारका सबै सदस्यका नाममा यमदीप दान दिनेक्रम भने आज साँझदेखि सुरु हुन्छ । यमदीप दान दक्षिण फर्काएर गर्नुपर्ने वैदिक सनातन हिन्दू धार्मिक विधि छ ।
शनिबारदेखि नै कार्तिक कृष्ण त्रयोदशी सुरु भएकाले आज बिहान पहिलो प्रहरमै कागलाई पूजासहित मीठामीठा चीजबीज खान दिएर सम्मान गरिएको हो । यमपञ्चक अर्थात् तिहारको पहिलो दिन नै कागतिहार पर्व मनाइने गरेकामा तिथिको घटबढका कारण यस वर्ष शनिबार यमपञ्चक सुरु भएकामा आज दोस्रो दिन काग तिहार पर्व मनाइएको हो ।