
- ग्लोबल आइएमई बैंक लिमिटेडले ग्लोबल फाइनान्स म्यागाजिनद्वारा सन् २०२५ का लागि नेपालकै उत्कृष्ट बैंक अवार्ड प्राप्त गरेको छ।
- बैंकका अध्यक्ष ढकालले नवप्रवर्तनशील सेवा प्रदान गर्न यस अवार्डले प्रेरित गर्ने बताउँदै सबैमा आभार व्यक्त गरे।
- बैंकले ७७ जिल्लाका ३५२ शाखामा सेवा दिँदै रेमिट्यान्स सेवा समेत विभिन्न अन्तर्राष्ट्रिय स्थानहरूमा उपलब्ध गराउँदै आएको छ।
काठमाडौँ- ग्लोबल आइएमई बैंक लिमिटेड ग्लोबल फाइनान्स म्यागाजिनद्वारा प्रदान गरिएको प्रतिष्ठित “बेस्ट बैंक अवार्ड २०२५” बाट दोस्रो पटक सम्मानित भएको छ।
शनिबार संयुक्त राज्य अमेरिकामा आयोजित एक समारोहमा ग्लोबल फाइनान्सका प्रतिनिधिले बैंकका अध्यक्ष चन्द्रप्रसाद ढकाल र प्रमुख कार्यकारी अधिकृत सुरेन्द्रराज रेग्मीलाई अवार्ड हस्तान्तरण गरेका थिए।
विश्वसनीयता, वित्तीय स्रोत परिचालन, पहुँच विस्तार, रणनीतिक साझेदारी, व्यावसायिक र ग्राहकमैत्री सेवा विकास, तथा क्रेडिट रेटिङका मापदण्डमा उत्कृष्ट ठहरिँदै ग्लोबल आइएमई बैंक सन् २०२५ का लागि नेपालकै उत्कृष्ट बैंकका रूपमा चयन भएको हो। यसअघि पनि बैंकले सन् २०२४ मा यही अवार्ड प्राप्त गरेको थियो।
अध्यक्ष ढकालले यस सम्मानले बैंकलाई अझ नवप्रवर्तनशील र उत्कृष्ट सेवा प्रदान गर्न प्रेरित गर्ने बताए। उनले नेपाल सरकार, नेपाल राष्ट्र बैंक, सेयरधनी, कर्मचारी, ग्राहक र साझेदारहरूलाई आभार व्यक्त गर्दै भने, “यो अवार्ड हाम्रो सबैको सामूहिक प्रयासको परिणाम हो।”
ग्लोबल फाइनान्स म्यागाजिनले यस वर्ष अफ्रिका, एसिया–प्यासिफिक, ल्याटिन अमेरिका, मध्यपूर्व, र युरोपका उत्कृष्ट बैंकहरूलाई समेत सम्मान गरेको छ। सो सूचीमा हङकङको एचएसबीसी, भारतको स्टेट बैंक अफ इन्डिया, चीनको चाइना कन्स्ट्रक्सन बैंक, जापानको एसएमबीसी, मलेशियाको यूओबी, बंगलादेशको सिटी बैंक र नेपालको ग्लोबल आइएमई बैंक पनि समावेश छन्।
ग्लोबल आइएमई बैंक यो अवार्ड प्राप्त गर्ने पहिलो नेपाली बैंक हो। यसअघि पनि बैंकले बैंक अफ द इयर २०१४, बेस्ट इन्टरनेट बैंक २०१६, युरोमनी अवार्ड फर एक्सिलेन्स २०२२, २०२४, २०२५, बेस्ट बैंक ईएसजी नेपाल २०२४, र बेस्ट इम्प्लोयर अवार्ड जस्ता प्रतिष्ठित सम्मानहरू प्राप्त गरिसकेको छ।
वर्तमानमा बैंकले देशका ७७ वटै जिल्लामा ३५२ शाखा, ३८४ एटिएम, १५५ शाखारहित बैंकिङ सेवा, ६८ एक्सटेन्सन तथा राजश्व संकलन काउन्टर, र ३ वटा वैदेशिक प्रतिनिधि कार्यालयमार्फत सेवा प्रदान गरिरहेको छ। बैंकले विश्वका विभिन्न देशहरू-अमेरिका, अष्ट्रेलिया, कोरिया, जापान, कतार, साउदी अरब, मलेशिया, यूएई लगायत देशहरूबाट रेमिट्यान्स सेवा पनि प्रदान गर्दै आएको छ।