
काठमाडौँ – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफूले एक पैसा पनि भ्रष्टाचार नगरेको दाबी गरेका छन्।
आइतबार काठमाडौँमा आयोजित सम्पादकहरुसँगको संवाद कार्यक्रममा उनले भ्रष्टाचार गरेको भन्ने लागेमा छानबिन गर्न चुनौती दिए।
नेपाल पत्रकार महासंघ र सम्पादक मण्डलले छानबिन गरे हुने उनको भनाइ छ। उनले जलेको घरको खरानीबाहेक केही नभएको बताए।
सरकारले बैंक खाता रोक्ने भनेको उल्लेख गर्दै उनले आफू सांसद, प्रधानमन्त्री रहँदाको तलबभत्ताको केही रकम बैंक खातामा रहेको बताए। उनले खातामा २०/२५ लाख रुपैयाँ हुनसक्ने बताए।
उनले भने, ‘मैले एक पैसा भ्रष्टाचार गरिनँ। ए बाबा तपाईंहरु पनि एउटा टोली बनाएर छानबिन गर्नुस् न, हो। अरुको सक्नुहुन्न भने केपी ओली एउटाको छानबिन गर्नुस् न। गर्दिनुस् त त्यति ल। गर्नुस्, पत्रकार महासंघले गरे पनि हुन्छ, सम्पादक मण्डलले गरे पनि हुन्छ।’
उनले विश्वभरका बैंकहरुसँग सोधेर आफ्नो सम्पत्ति छानबिन गर्न पनि चुनौती दिए। उनले सबैको सम्पत्ति छानबिन गर्न पनि आग्रह गरे।