
- केपी ओलीले सुशीला कार्की नेतृत्वको सरकारलाई असंवैधानिक ठहराउँदै, निर्धारित मितिमा चुनाव नहुने दाबी गरे।
- उनले संसद पुनःस्थापना अवश्य हुनुपर्ने बताउँदै, संसद विघटन असंवैधानिक रहेको टिप्पणी गरे।
- ओलीले जेनजी आन्दोलनको जाँचबुझ आयोगमा बयान नदिने र नियोजिततालाई अस्वीकार गर्ने बताए।
काठमाडौँ – एमाले अध्यक्ष केपी ओली फागुन २१ गते चुनाव नहुने दाबी गरेका छन्।
आइतबार कोटेश्वरको एक पार्टी प्यालेसमा सम्पादकहरुसँगको सवाल जवाफमा ओलीले सुशीला कार्की नेतृत्वको सरकारले चुनाव नगराउने दाबी गरेका हुन्।
उनले कार्की नेतृत्वको सरकार असंवैधानिक भएको, शान्ति सुरक्षाको अवस्थामा ठीक नभएको, सरकार नेताहरु थुन्न उद्धत रहेको जिकिर गर्दै घोषित मितिमा चुनाव नहुने बताएका हुन्।
‘यो सरकार असंवैधानिक छ। यो सरकारले चुनाव गराउँदैन, गराउन सक्दैन। चाहे भने पनि, यसले चाहँदै चाहँदैन। यो उल्टो बाटो हिँडिराखेको छ। दलका नेताहरूलाई थुन्नैपर्छ भनेर कतै अदृश्य आदेश आइराखेको छ भन्ने सुन्छु। शेरबहादुर देउवालाई थुन्ने, प्रचण्डलाई थुन्ने, केपी ओलीलाई थुन्ने। चुनावमा दलहरूलाई भाग लिन नदिने। अनि चुनाव कसका बिचमा गर्ने?, ओलीले भने।
कार्की नेतृत्वको सरकार निर्माणको प्रक्रिया मात्रै नभएर व्यक्ति समेत असंवैधानिक भएकाले राजनीतिक निकास संसद पुनःस्थापना भएको ओलीको दाबी थियो।
संविधानले संसद बाहिर र पूर्वप्रधानन्यायाधीशलाई प्रधानमन्त्री बनाउन नदिने भएकाले कार्की नेतृत्वको सरका असंवैधानिक रहेको ओलीको भनाइ ।
उनले आफूले संविधान र संसद यथावत राखेर राजनीतिक निकासका लागि प्रधानसेनापति अशोक सिग्देल र राष्ट्रपतिलाई भनेको बताए।
ओलीले भने, ‘संसद पुनःस्थापना हुनैपर्छ। संसद विघटन असंवैधानिक छ। सरोकार नै नभएको व्यक्तिले गरेको विघटन मानिदैन।’
उनले आफूले संसद विघटन गर्दा मिडियो प्रतिगमन भनेको र अहिले नभनेको भन्दै आक्रोश समेत पोखे। ‘मैंले दुई तिहाइ बहुमतको प्रतिनिधित्व गरेर विघटन गर्दा प्रतिगमन हुने, अहिले नहुने? सम्पादक साथीहरु?, ओलीले सोधे। उनले पटक पटक आफ्नो राजनीतिक कदम र निर्णयको समथर्न नगरेको भन्दै सम्पादकहरुप्रति खनिए।
त्यस्तै ओलीले भदौ २३ र२४ गते भएको जेनजी आन्दोलनमा भएको धनजनको क्षतिबारे गठित जाँचबुझ आयोगलाई बयान नदिने बताए। आयोगले तत्कालीन प्रधानमन्त्रीको हैसियतमा ओलीलाई बोलाएर सोधपुछ गर्ने तयारी गरिरहेका बेला उनले आयोग नियोजित भएकालाई त्यसलाई अस्वीकार गर्ने उल्लेख गरे।
ओलीले भने, ‘केपी ओली सोझो छ भन्दैमा, आयोगहरू जसजसले जहाँ जहाँ बनाउँदै हिँड्छ । जसले सोध्दै हिँड्छ, त्यहाँ त्यहाँ लुरुलुरु गएर बयान दिने काम हो र? त्यस्ता काम केपी ओलीले गर्दैन ।’
उनले ओली बयान दिन आउँछ भनेर भ्रममा नपर्न चुनौती दिए।