
काठमाडौँ – प्रधानमन्त्री सुशीला कार्की जेन–जी आन्दोलनका घाइतेहरूसँग भेट गर्नबाट पन्छिएकी छन्।
आइतबार पाँच बुँदे माग लिएर सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय पुगेका जेन–जी आन्दोलनका क्रममा घाइतेहरूसँग समय व्यस्तता भन्दै प्रधानमन्त्री कार्कीले भेट गर्नबाट टाढिएकी हुन्।
जेन–जीका घाइतेहरु बिहान ९ बजेदेखि प्रधानमन्त्री कार्कीलाई भेट्न सिंहदरबारमा पुगेका थिए। तर प्रधानमन्त्री कार्की बिहानैदेखि बालुवाटारबाट बाहिर निस्किनन्।
प्रधानमन्त्रीले भेट्न नआएपछि जेन–जी घाइतेहरु आक्रोशित भएका छन्। उनीहरुले भदौ २३ र २४ को गोली प्रहारको तत्काल न्यायिक कारबाही हुनुपर्ने माग आफूहरुको रहेको बताएका छन्।
त्यस्तै, उनीहरुले संवैधानिक सुधार र जनमत संग्रह, जेनजी आन्दोलनको संरक्षण र कानूनी सुरक्षा, भ्रष्टाचारविरुद्ध शून्य सहनशीलता तथा सम्पत्ति छानबिन, संवैधानिक अंगमा स्वच्छ नियुक्ति र विदेशी हस्तक्षेप रोकलगायतका माग आफूहरु रहेको बताएका छन्।
साथै उनीहरुले पाँच दिनभित्र आफ्ना माग पूरा हुनुपर्ने अल्टिमेटम दिएका छन्। प्रधानमन्त्री कार्यालयमा जेन–जीका घाइतेहरु थप आक्रोशित भएपछि प्रधानमन्त्री कार्कीका मुख्य सल्लाहकार अजयभद्र खनालले प्रधानमन्त्रीले आइतबार (आज) बालुवाटारबाटै काम गरिरहेको बताए। प्रधानमन्त्रीको कार्य व्यस्तताका कारण भेट गर्नसक्ने अवस्था नरहेको उनले जिकिर गरे।