
फिलिपिन्समा उष्णकटिवन्धीय आँधी फेंगशेनका कारण आठ जनाको मृत्यु भएको छ भने अन्य दुई जना अझै बेपत्ता छन्।
नागरिक रक्षा कार्यालय (ओसीडी) का प्रवक्ता जुनी कास्टिलोका अनुसार, आइतबार मनिलाको दक्षिणपूर्वमा पर्ने क्वेजोन प्रान्तको पिटोगो नगरपालिकामा ढलेको रूखले पाँच जनाको मृत्यु भएको हो।
त्यसैगरी मध्य फिलिपिन्सको पश्चिमी भिसायास क्षेत्रमा तीन जनाको मृत्यु भएको जानकारी दिइएको छ।
दक्षिणी फिलिपिन्सको बुकिडनोन प्रान्तको क्वेजोन नगरपालिकामा पहिरोमा बेपत्ता भएका दुई जनाको खोजी र उद्धार कार्य जारी छ।
फेंगशेनले देशभर करिब १५ हजार परिवार वा लगभग ३० हजार व्यक्तिहरूलाई प्रभावित पारेको छ। अहिलेसम्म करिब २२ हजार मानिसहरूलाई सुरक्षित स्थानमा सारिएको छ।
कास्टिलोका अनुसार आँधीले मध्य र दक्षिणी फिलिपिन्समा बाढी र पहिरो निम्त्याएको छ।
राज्यको मौसम विभागले सोमबार बिहानै फेंगशेन फिलिपिन्सबाट बाहिरिने पूर्वानुमान गरेको छ। फिलिपिन्समा वार्षिक औसत २० वटा आँधी आउने गरेको बताइएको छ।