
काठमाडौँ- भदौ २३ र २४ गतेको जेनजी आन्दोलन र यसपछिको तोडफोड र आगजनीका कारण नयाँ पासपोर्ट अभाव भएको छ।
राहदानी विभागका अनुसार १ लाख ४० हजार नयाँ पासपोर्ट बनाउन दरखास्त परे पनि समयमै बनाएर दिन सकिएको छैन।
भदौ २४ गतेको आगजनीमा बनाएर दिन ठिक्क पारिएका १५ हजारभन्दा बढी पासपोर्ट जलेका थिए।
नयाँ पासपोर्ट छपाइ प्रक्रियाले गति नलिँदा ठूलो संख्यामा पासपोर्ट बनाउन असहज भएको हो।
अहिले काठमाडौँबाट दैनिक ५ सय र काठमाडौँबाहिरबाट १ हजार ५ सय नयाँ पासपोर्टमात्र दैनिक दिन सकिने राहदानी विभागले जानकारी दिएको छ।
यद्यपि पुराना पासपोर्ट आवेदनहरूकै थाक थुप्रिँदा र नयाँ पासपोर्ट छपाइ असहज बन्दा पासपोर्ट बनाउन सकस भएको हो।
यसअघि पासपोर्ट छपाइको ठेक्का विवादित बन्नुका साथै यसमा भ्रष्टाचार मुद्दा आकर्षित भएकाले सेवाग्राहीले दु:ख पाउँदै आएका छन्।