
काठमाडौँ – पर्वतको कुश्मास्थित बान्द्रेबिडी चौरमा नेपालको चर्चित ब्याण्ड ‘दी एक्स’ले आफ्नो लाइभ प्रस्तुति दिएको छ।
कुश्माका स्थानीय युवाहरूको संस्था ‘शिवालय युवा विकास मञ्च’ले चाडवाडको छेकोमा उनीहरूको लाइभ कन्सर्ट आयोजना गरेको हो।
‘दी एक्स’को कुश्मामा पहिलो प्रस्तुति हो। ब्याण्डले कुश्मामा दर्जन बढी आफ्ना हिटगीतहरू श्रोता दर्शकका बीच प्रस्तुत गरेको थियो। प्रस्तुति हेर्न बागलुङ, बेनी, पोखरादेखि एक्सका श्रोता दर्शक, प्रशंसकहरूको बाक्लो उपस्थित थियो।
सन् १९९३ मा काठमाडौँ मैतिदेवीका स्थानीय युवाहरूको साङ्गीतिक मोहकै कारण यस ब्याण्डको स्थापना भएको थियो। ब्याण्डले धुँवा एल्बमबाट आफ्नो परिचय विस्तार गरेको थियो।
ब्याण्डका हालसम्म सात एल्बम प्रकाशित छन। धुँवा, माझीदाइ, फर्केर हेर्दा, भडास, सीमाना उनीहरूका प्रकाशित चर्चित कृतिहरू हुन्।
‘एउटा चिठीको साहाराले, ठाडो जाने उकालो, चियाबारीमा, फर्केर हेर्दा, लुक्न देउ, सीमाना’लगायतका आफ्ना हिट गीतहरू कार्यक्रममा प्रस्तुत गरिएको थियो। ब्याण्डमा शिव मुखिया भोकल, सुरेन श्रेष्ठ ड्रम र सजल राजभण्डारीले गीतारमा प्रस्तुति दिएका थिए।
स्थानीय कला, संस्कृति, सामाजिक विकास र मनोरञ्जनलाई प्रवर्द्धन गर्ने उद्देश्यले कन्सर्ट आयोजना गरिएको मञ्चका अध्यक्ष संविधान गिरीले जानकारी दिए।