
बिराटनगर- लक्ष्मीपूजाको राति पटाका पड्काउने क्रममा सुनसरीको रामधुनी नगरपालिकामा दोहरो झपड हुँदा ६ जना घाइते भएका छन् ।
जिल्ला प्रहरी कार्यालय सुनसरीका अनुसार नगरपालिकाको वडा नम्बर १ मा राति करिब ११ बजे पटका पड्काउने विषयमा स्थानीयबीच झडप हुँदा उनीहरू घाइते भएका हुन् ।
सुनसरी प्रहरी कार्यालयका प्रवक्ता तथा प्रहरी नायब उपरिक्षक योगराज खतिवडाका अनुसार १९ वर्षका राकेश सरदार, १८ वर्षका सरोज र अजित सरदार, ४४ वर्षका पञ्जु सरदार, ३५ वर्षका उजित सरदार, र १७ वर्षका रितेश सरदार घाइते भएका हुन् ।
घटनालगत्तै इलाका प्रहरी कार्यालय रामधुनीका प्रहरी सहायक निरीक्षक झमककुमार श्रेष्ठको टोलीले स्थिती नियन्त्रणमा लिएको थियो । प्रहरी र अन्य स्थानीयको सहायतामा रातिनै घाइतेहरुलाई सुनसरीको झुम्कास्थित अस्पताल पुराइएको थियो ।
झडपमा गंभीर भएका अजितलाई भने थप उपचारका लागि विराटनगरको विराट नर्सिङ होममा भर्ना गरिएको प्रहरीले जनाएको छ । घटनाबारे प्रहरीले थप अनुसन्धान गरिरहेको सुनसरी प्रहरी प्रवक्ता खतिवडाले जानकारी दिए ।