
- प्रधानमन्त्री सुशीला कार्कीले भयरहित वातावरणमा चुनाव गराउन सरकारको प्रतिबद्धता व्यक्त गर्दै नेताहरूसँग संवादलाई समेत जोड दिनुभयो।
- सरकारका प्रवक्ता जगदीश खरेलले निर्वाचनको तयारीमा सबै दलको सहमति रहेको र सुरक्षा वातावरण आवश्यक भएको बताए।
- प्रधानमन्त्री कार्कीको बैठकमा विभिन्न दलका नेताहरू सहभागी भएर निर्वाचन तयारीका सन्दर्भमा छलफल भयो।
काठमाडौँ – प्रधानमन्त्री सुशीला कार्कीले तोकिएकै समयमा भयरहित वातावरणमा चुनाव गराउन सरकार कटिबद्ध रहेको प्रतिबद्धता व्यक्त गरेकी छन्।
‘यसैका निमित्त अहोरात्र खटिएर मन्त्रीहरु, सुरक्षा निकायलगायत हामी काम गरिरहेका छौँ,’ उनले मंगलबार बालुवाटारमा दलका नेताहरूसँग भनिन्।
दलहरूसँग संवादमा ढिलाइ किन भन्ने सन्दर्भमा उनले भनिन्, ‘यसबीचमा घाइतेहरूको उपचार, सहिदका शव व्यवस्थापन र परिवारका लागि राहत, आन्दोलनकारी पक्षका आवाजको सुनुवाइ गर्नुपर्ने भयो। त्यसमा समय लाग्यो। सुरुवाती चरणमा जेनजी युवाहरूले दलहरूसँग संवाद गर्ने कुरा नै रुचाइरहनुभएको थिएन।’
उनले राष्ट्रपति रामचन्द्र पौडेलले संवादको ढोका खोलिदिएको उल्लेख गर्दै दलका नेताहरूसँग भनिन्- ‘अब जेनजी र दलहरू बसौँ। जसरी हुन्छ, स्थिति सामान्यीकरण गर्दै चुनावतिर जाऔँ। चुनाव सफल बनाउन सबैले आआफ्नो तर्फबाट भूमिका खेलौँ।’
उनले दलहरुले व्यक्त गरेका चिन्ता र चासो सम्बोधन गर्न सरकार तयार रहेको बताएकी थिइन्।
प्रधानमन्त्री कार्कीको आह्वानमा बसेको बैठक चार घन्टाभन्दा लामो समय चलेको बैठक केही बेरअघि सकिएको हो।
बैठकको सुरुमा सरकारका तर्फबाट सञ्चारमन्त्री खरेलले सरकार र दलहरूबीचको छलफल राख्नुको आवश्यकताबारे प्रकाश पारेका थिए।
बैठकमा कांग्रेसबाट महामन्त्री गगन थापा र प्रवक्ता प्रकाशशरण महत सहभागी थिए भने एमालेबाट महासचिव शंकर पोखरेल र प्रवक्ता प्रदीपकुमार ज्ञवाली थिए।
त्यस्तै माओवादीबाट नेताहरू वर्षमान पुन र पम्फा भुसाल तथा रास्वपाबाट उपाध्यक्ष स्वर्णिम वाग्ले र नेतृ सोविता गौतम सहभागी थिए।
एकीकृत समाजवादीबाट राजेन्द्र पाण्डे र प्रकाश ज्वाला तथा राप्रपाबाट राजेन्द्र गुरुङ र मोहन श्रेष्ठ सहभागी थिए।
त्यस्तै, जनता समाजवादी पार्टीबाट उपेन्द्र यादव र प्रकाश अधिकारी, तराई मधेस लोकतान्त्रिक पार्टीबाट सर्वेन्द्रनाथ शुक्ल, नागरिक उन्मुक्तिबाट रेशम चौधरी तथा नेमकिपाबाट प्रेम सुवाल सहभागी थिए। पर्यवेक्षकद्वयका रूपमा केदारभक्त माथेमा र विद्याधर मल्लिक पनि सहभागी थिए।
संवादमा सरकारका तर्फबाट प्रधानमन्त्री कार्कीसहित अर्थमन्त्री रामेश्वर खनाल, ऊर्जामन्त्री कुलमान घिसिङ, गृहमन्त्री ओमप्रकाश अर्याल, कृषिमन्त्री मदन परियार, सञ्चारमन्त्री खरेल र प्रधानमन्त्रीका मुख्य सल्लाहकार अजयभद्र खनाल सहभागी थिए।
यसअघि राष्ट्रपति रामचन्द्र पौडेलको आह्वानमा राष्ट्रपति कार्यालय शीतल निवासमा गत असोज २४ गते प्रधानमन्त्री कार्कीको विशेष उपस्थितिमा राजनीतिक दलहरूसँग निर्वाचन तयारीका सन्दर्भमा छलफल भएको थियो।
निर्वाचन आयोगले विघटित प्रतिनिधिसभामा प्रतिनिधित्व गर्ने तथा गत स्थानीय निर्वाचनमा कम्तीमा एक वडा सदस्य जित्नेसमेत गरी २९ वटा राजनीतिक दलहरूसँगको छलफलका क्रममा प्रतिनिधिहरूले पार्टीहरूसँग सघन छलफल गरी निर्वाचनको वातावरण तयार गर्न सरकारसँग आग्रह गरेका थिए।