
- दाङका भिम भुसाललाई तिहारमा माला बनाउन फूल खोज्न निकै मुस्किल भयो, प्रतिमाला १५० रुपैयाँमा खरिद गरे।
- तिहारमा फूलको माला अभाव हुँदा बजारमा प्लास्टिकको माला नदेखिएको तर प्राकृतिक माला बनाउन फूलको अभाव रहयो।
- भारतबाट फूल नआएकोले नेपाली किसानले उत्पादन गरेको फूललाई राम्रो मूल्य पाएका र अर्को वर्ष अझ बढी उत्पादन गर्ने योजना छ।
दाङ– लमही निवासी भिम भुसाललाई यस वर्षको तिहारमा माला बनाउन चाहिने फूल खोज्न निकै सकस भयो ।
न त घरको आँगनमा राम्ररी फूल फुले, न त बजारमा सजिलै फूलका माला पाइए । मुस्किलले मखमली फूलको माला बिक्रीका लागि राखिएपछि भुसालले प्रतिमाला १५० रुपैयाँमा खरिद गर्नुपर्यो ।
‘लक्ष्मी पूजाको दिन केही माला बजारमा देखिए । अहिले त तिहारको अघिल्लो दिनमै माला सकिएको छ,’ उनले भने, ‘गला खाली राख्नुभन्दा महँगोमा किन्नुपर्यो ।’
यस वर्षको तिहारमा फूलको माला अभाव भएको छ । व्यावसायिक उत्पादन गर्ने किसानले समेत बजारको माग अनुसार आपूर्ति गर्न सकेका छैनन् ।
गाउँघरमै खेती हुने स्थानमा पुगेर फूल टिप्ने र किन्नेहरू पनि उत्तिकै छन् । बजारमा कृत्रिम माला बिक्री–वितरणमा प्रतिबन्ध लगाइएकाले प्लास्टिकका माला देखिएका छैनन् ।
त्यसमा पनि प्राकृतिक माला समेत अभाव भएको हो । लमही नगरपालिका–६ कुलमोडकी पिदा घर्तीले व्यावसायिक रूपमा फूलखेती गर्दै आएकी छन् ।
उनले सयपत्री फूल बिक्री भइसकेको र केही मखमली फूल मात्र बाँकी रहेको बताइन् । बाँकी फूलको माला उनेर उनले प्रतिमाला १५० रुपैयाँमा बिक्री गरेकी छन् । ‘हामी किसानलाई यसपालि राम्रै भयो । फूल बिक्री भयो, मूल्य पनि राम्रै पायौं,’ उनले भनिन्, ‘अर्को वर्ष खेती गर्न अझ जाँगर चल्ने भयो ।’
व्यावसायिक रूपमा फूल उत्पादन गर्ने किसानले यस वर्ष भारतबाट फूल नआएकाले नेपाली फूलले बजार पाएको बताएका छन् ।
‘भारतबाट फूल आएन । त्यसैले हाम्रो मेहनतले मूल्य पायो,’ घर्तीले सुनाउँदै भनिन्, ‘अर्को वर्ष पनि धेरै खेती गरेर सबैलाई पुर्याउनेछौं ।’
सयपत्री फूल प्रतिकिलो ४०० रुपैयाँमा बिक्री गरेका किसानले अहिले उपभोक्ताको माग अनुसार फूल पुर्याउन नसकेको बताएका छन् ।