
काठमाडौँ- नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले भदौ २४ गते जेन-जी आन्दोलनका नाममा जसरी तोडफोड, लुटपाट र आगजनीका घटना भए यो एउटा नेपालका लागि भयानक षड्यन्त्र रहेको बताएका छन्।
भदौ २४ मै आन्दोलनकारीले जलाएको बालकोटस्थित आफ्नो निवास हेर्न बुधबार पुगेका पूर्वप्रधानमन्त्रीसमेत रहेका ओलीले यस्तो बताएका हुन्।
उनले मेडिकल व्यवसायी दुर्गा प्रसाईंलगायत राजसंस्थापक्षधरलाई लक्षित गर्दै यस्तो षड्यन्त्र पहिले देखिनै हुँदै आएको बताए। ‘अहिले मात्र होइन। यसअघि चैत्र १५ मा अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र (संसद् भवन)जाँऊ, सिंहदरबार जाँऊ भनेकै थिए। तर उनीहरूले सकेका थिएनन्। अहिले जलाइ छाडे’, उनले भने।
गएको चैत्र १५ गते प्रसाईंको नेतृत्वमा तीनकुनेमा आन्दोलन हुँदा दुई जनाको मृत्यु भएको थियो भने व्यापारिक भवनहरुमा आगजनी र लुटपाट भएको थियो।
साथै ओलीले पहिले पनि आफ्नो घरमा आक्रमण गर्न पटक-पटक आउने गरेको बताएका छन्।