लूभ्रको सुरक्षा कमजोरीको खुलासा: फ्रान्सेली राजमुकुटको गहना चोरी हुनुमा निर्देशकले स्वीकारिन् असफलता

लूभ्रको सुरक्षा कमजोरीको खुलासा: फ्रान्सेली राजमुकुटको गहना चोरी हुनुमा निर्देशकले स्वीकारिन् असफलता
+
-
देशसञ्चार AI सारांश
  • लूभ्र संग्रहालयकी निर्देशकले चोरहरूको आगमन समयमै पत्ता लगाउन नसकिएको स्वीकार गर्दै सुरक्षा प्रणालीलाई “अत्यन्तै असन्तोषजनक” भनिन्।
  • डेस कार्सले सीसीटीभी क्यामेराहरू पुराना रहेकाले सुरक्षा कमजोरी भएको स्वीकार गरेर सुरक्षा बजेटको चुनौतीहरू औँल्याउनुभयो।
  • चोरहरूको समूहले सम्राट नेपोलियनको हीरा र पन्नाको हारसहित आठ गहनाका टुक्राहरू कम समयमै चोर्न सफल भयो।

लूभ्र संग्रहालयले ८८ मिलियन युरो मूल्य बराबरको फ्रान्सेली राजमुकुटको गहना चोरी हुनु अघि चोरहरूको समूहलाई समयमै पत्ता लगाउन नसकेको संग्रहालयकी निर्देशकले खुलासा गरेकी छन्।

आइतबार भएको चोरीपछि पहिलो पटक सार्वजनिक रूपमा बोल्दै निर्देशक लोरेन्स डेस कार्सले फ्रान्सेली सिनेटरहरूलाई बताइन् कि लूभ्रको बाहिरी भाग वरपर जडान गरिएका सीसीटीभी क्यामेराहरू कमजोर र “पुराना” थिए।

उनका अनुसार चोरहरू छिरेको लूभ्रको बाहिरी भित्तामा राखिएको एउटै मात्र क्यामेरा पनि गहना राखिएको ‘ग्यालरी अफ अपोलो’ मा जाने पहिलो तल्लाको बालकनीबाट अर्को दिशातिर फर्केको थियो।

“हामी यी गहना जोगाउन असफल भयौँ,” उनले भनिन्, “क्रूर अपराधीहरूबाट कसैलाई पनि सुरक्षा प्राप्त छैन— लूभ्रलाई पनि छैन।”

मन्त्रीहरूले पत्रकार सम्मेलन र अन्तर्वार्ता दिँदै सुरक्षा कमजोरीको खण्डन गरिरहेका बेला डेस कार्सले भने लूभ्र “पराजित भएको” स्वीकार गरिन्।

उनका यी शब्दहरूले विश्वको सबैभन्दा धेरै भ्रमण गरिने संग्रहालयलाई सुरक्षित राख्नु कति कठिन छ र त्यहाँको सुरक्षा वास्तवमा कति खराब थियो भन्ने असाधारण अन्तरदृष्टि दिएको छ।

उनले भनिन् कि लूभ्रको बाहिरी सीसीटीभी प्रणाली “अत्यन्तै असन्तोषजनक” थियो र भित्रका केही क्षेत्रहरू आधुनिक प्रविधिसँग अनुकूलन गर्न नसक्ने गरी धेरै पुराना भइसकेका थिए।

गत वर्ष मात्रै ८७ लाख दर्शकले भ्रमण गरेको यस विशाल संग्रहालयमा सुरक्षा लगानी सुस्त रहेको छ र उनले ठूला संस्थाहरूले सामना गर्ने बजेटको चुनौतीहरूलाई प्रकाश पारिन्।

सन् २०२१ मा लूभ्रको निर्देशक बनेकी डेस कार्सले सीसीटीभी क्यामेराको संख्या दोब्बर गर्न चाहेको बताइन्।

उनले पहिले काम गरेकै मुसे डी’ओर्सेको आधुनिक उपकरणको तुलनामा लूभ्रका उपकरणहरू कति “अप्रचलित” छन् भन्ने कुरा पदभार ग्रहण गर्दा नै आफूलाई चेतावनी दिइएको बताएकी थिइन्।

बुधबारको सुनुवाइमा उपस्थित केही सिनेटरहरूले लूभ्रको सुरक्षामाथि अविश्वास व्यक्त गरे र बाहिरी भित्तामा नदीतिर फर्केको एउटा मात्र क्यामेरा किन थियो र त्यो किन गलत दिशातिर फर्केको थियो भनी प्रश्न गरे।

यो एउटै कमजोरीको कारणले गर्दा चोरहरूको समूह र ग्यालरीको पहिलो तल्लासम्म पुग्न प्रयोग गरिएको मेकानिकल भर्याङसहितको लरी ‘ग्यालरी अफ अपोलो’ को फेदमा आइपुग्दा पनि पत्ता लागेन।

“लूभ्रमा कमजोरी छ र म यसलाई पूर्ण रूपमा स्वीकार गर्छु,” डेस कार्सले सिनेटरहरूलाई भनिन्।

उनले सुरक्षा गार्डहरूको प्रशंसा गरिन्, जसले घुसपैठ भएको थाहा पाउने बित्तिकै भवन खाली गराउन छिटो काम गरेका थिए। तर उनले स्वीकार गरिन्: “हामीले चोरहरूको आगमनलाई समयमै पत्ता लगाउन सकेनौँ… हाम्रो बाहिरी सुरक्षाको कमजोरी सबैलाई थाहा छ।”

संग्रहालय बुधबार पुन: खुल्यो, यद्यपि चोरी भएको ग्यालरी भने बन्द नै छ। लूभ्रमा लियोनार्डो दा भिन्चीको ‘मोना लिसा’ सहित अमूल्य कलाकृतिहरू छन्।

चोरी भएका वस्तु

गत आइतबार बिहान १० मिनेटभन्दा कम समय भित्र संसारको सबैभन्दा प्रसिद्ध संग्रहालयहरू मध्ये एकमा प्रवेश गरी चोरी गर्ने चार जनाको समूहको खोजी अझै जारी छ। उनीहरूले सम्राट नेपोलियनले आफ्नी पत्नीलाई दिएको हीरा र पन्नाको हारसहित आठ बहुमूल्य गहनाका टुक्राहरू लिएर भागेका थिए।

भाग्ने क्रममा उनीहरूले महारानी युजेनीको १९ औं शताब्दीको हीरा जडित मुकुट खसालेका थिए। यद्यपि यो मुकुट फेला पर्यो, तर यो क्षतिग्रस्त भएको छ। लोरेन्स डेस कार्सले सिनेटरहरूलाई भनिन् कि चोरहरूले मुकुटलाई प्रदर्शन केसबाट जबरजस्ती निकाल्ने क्रममा यो च्याप्टिएको हुन सक्छ।

डेस कार्सले भनिन्, “प्रारम्भिक मूल्याङ्कनले सङ्केत गर्छ कि यसलाई सावधानीपूर्वक मर्मत गर्न सम्भव छ।”

 

प्रेमदेव गिरीका लाेकलय र मादलकाे ताल

प्रेमदेव गिरीका लाेकलय र मादलकाे ताल

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’