अर्याल भर्सेस ओली 

अर्याल भर्सेस ओली 
+
-

केपी ओली अहिले सत्तामा छैनन् तर भर्खर एक महिनाको आयु पार गरेको सत्तारूढ शक्तिलाई निरन्तर चुनौती दिइरहेका एकमात्र पात्र बनेका छन्। उनको लगातारको आलोचना र व्यंग्यवाणले सत्तारूढ शक्ति खासगरी गृहमन्त्री ओमप्रकाश अर्याललाई आच्छुआच्छु परेको छ। अर्यालका अभिव्यक्तिहरूले स्पष्ट पारेका छन्- ओलीका कारण उनी तिल्मिलाएका छन्।

जेनजी विद्रोहबाट सत्ताच्यूत भएपछि ओली कयौँ दिन सेनाको पहरामा बसे। बालकोटको उनको व्यक्तिगत घर जलेको छ। महेश बस्नेतको साथ र सहयोगमा उनले गुण्डुमा डेरा राखेका छन्। सत्ताको साँचो गुमेको छ र आफ्नै दलभित्रबाट उनले निरन्तर आलोचना व्यहोरिरहेका छन्। तर, जेनजी विद्रोहपछि जन्मेको प्रतिपक्षविहीन सुशीला कार्की सरकारलाई एक महिनामै उनले प्रतिपक्षीको जस्तो चुनौती दिइरहेका छन्। गृहमन्त्री अर्यालका अनुसार वर्तमान सरकारको सबैभन्दा ठूलो सुरक्षा चुनौती ओली नै हुन्।

गृहमन्त्री अर्याललाई ओलीले उनी सत्ताच्यूत भएपछिको पहिलो सार्वजनिक कार्यक्रमबाटै व्यंग्य कसेका थिए। भनेका थिए- ‘गृहमन्त्री बाबुलाई म धेरै नउत्ताउलिन, नचम्किन सल्लाह दिन चाहन्छु। राजनीति, देश चलाउने कुरा ख्यालठट्टा होइन। बुझेर चल्न म सुझाव दिन्छु।’ उनले त्यो दिन सुशीला कार्कीको डरले आफू नभाग्ने पनि बताएका थिए।

जेनजी आन्दोलन र योसँगैका तोडफोड र आगजनीबारे छानबिन गर्न बनेको गौरीबहादुर कार्की नेतृत्वको आयोगले पूर्वप्रधानमन्त्री ओलीलाई स्थानहद तोक्दै पासपोर्टसमेत रोक्का गरेपछि ओली सरकारसँग आक्रोशित छन्। आफ्नो सुरक्षा कटौती गरिएपछि उनी सरकारसँग अझ आक्रोशित बनेका छन्। त्यहीमाथि गृहमन्त्री अर्यालले ओलीलाई भदौ २३ गतेको राज्यको दमन र नरसंहारमा थुन्न प्रहरी प्रमुख चन्द्रकुबेर खापुङलाई आदेश दिएको सार्वजनिक भएपछि ओलीको आक्रोशको पारो अझ चढेको छ।

ओली चूप लागेर बस्ने खालका पात्र होइनन्। व्यंग्य र आलोचना ओलीको बोल्ने भाषा नै हो। उनी घमण्डी छन्। जिद्दी छन्। अरूका कुरा सुन्दैनन्। अरूलाई गन्दैनन्। तर, सत्ता उनको हातबाट गुमिसकेको र उनी सत्ताबाहिर पुगिसकेको अवस्थामा उनीमाथि सत्तारूढ शक्ति खासगरी गृहमन्त्री अर्यालले रिसको भाषा बोल्नु हुँदैन। अहिले रिसको पारो थाम्नुपर्ने समय हो, अर्यालका लागि।

हिजो ओली सत्तामा थिए, आज अर्याल सत्तामा छन्। सत्तामा भएको व्यक्तिले बोल्ने भाषा संयमित र सन्तुलित हुनुपर्छ जुन आफू गृहमन्त्री बनेको एक महिनामा अर्यालले देखाउन सकेका छैनन्। ओलीलाई कुनै न्यायिक निकायको आदेशिबना थुन्न मिल्दैन। ओलीलाई ‘थुनेर देखाइदिन्छु’ भन्न पाइँदैन। ओलीलाई आजै थुन्दिन्छु, सुरक्षा खोस्दिन्छु भनेर धाकधम्की दिन पाइँदैन। ओलीमात्र होइन, कानुनी राज्यमा कसैलाई पनि कुनै आधारबिना धम्की दिन वा थुन्न पाइँदैन।

ओलीलक्षित गृहमन्त्री अर्यालका अभिव्यक्ति प्रतिशोधात्मक र आक्रोशपूर्ण देखिएका छन्। राज्यको जिम्मेवार व्यक्तिले सत्तामा नरहेको कुनै पनि व्यक्तिप्रति प्रतिशोधपूर्ण धाकधम्की वा आक्रोश पोख्न पाइन्छ? हिजो सत्तामा रहँदा ओलीले गरेका त्रुटिहरू दोहोर्‍याउने छुट सुशीला कार्की र उनका मन्त्रीहरूलाई छैन। गृहमन्त्री अर्याललाई पनि छैन।

भदौ २३ गतेको दमन र नरसंहारमा तत्कालीन प्रधानमन्त्री ओलीलाई थुन्न मिल्ने आधारहरू होलान् तर यो न्यायिक निरूपणको विषय हो। कुनै एक व्यक्तिको तजविजी अधिकारको विषय होइन। केपी ओलीलाई एक रात भए पनि थुनेर देखाइदिन्छु भन्ने अहम् सत्ताधारीहरूले पाल्नु उचित होइन।

गृहमन्त्रीज्यू, कृपया संयम राख्नू। सक्नुहुन्छ भने सुरक्षाकर्मीको मनोबल बढाउनू।  सक्नुहुन्छ भने चुनावको वातावरण तयार गर्नू। सक्नुहुन्छ भने दलहरूलाई विश्वासमा लिनू। दलहरूबिना चुनाव हुनसक्दैन। एक महिनाका तपाईँका व्यवहार, अभिव्यक्ति र गतिविधिले संक्रमणकालमा सबैलाई साथ लिएर अघि बढ्नसक्ने गृहमन्त्री तपाईँलाई बनाउन सकेको छैन।

हामीले के बुझ्नुपर्छ भने केपी ओलीसँग अहिले सत्ताको शक्ति छैन। तर उनी अझै पनि देशको सबैभन्दा ठूलो दलका अध्यक्ष हुन्। तीन वर्षअगाडि भएको आमनिर्वाचनमा २८ लाख मत ल्याएको दलका अध्यक्ष हुन् उनी। हामीलाई मन नपरे पनि पार्टीको केन्द्रीय कमिटीमा उनलाई बहुसंख्यक सदस्यहरूको साथ रहेको हामीले अस्ति भर्खरै केन्द्रीय कमिटीको बैठकमा देखिहाल्यौँ। एमाले अझै केपी ओलीकै दबदबामा रहेको बुझ्न कठीन छैन। उनलाई पार्टी नेतृत्वबाट हटाउन बल पुगेको छैन। म वा तपाईँले वा पार्टीबाहिरका व्यक्तिले चाहेर पार्टीको अध्यक्ष पदबाट उनी हट्दैनन्। उनलाई हटाउन केन्द्रीय कमिटी वा महाधिवेशनले मात्र सक्छ जुन अहिलेको परिस्थितिमा उनीअनुकूल नै देखिएको छ। देशको सबैभन्दा ठूलो दललाई पाखा लगाएर वा चुनौती दिएर वर्तमान सरकारले चुनाव गराउन सक्दैन।

वर्तमान सरकारले तोकेको फागुन २१ को निर्वाचन आउन अब साढेचार महिना बाँकी छ तर देखिने गरी निर्वाचनको वातावरण सरकारले बनाउन सकेको छैन। गृहमन्त्रीका अभिव्यक्ति लगातार एक व्यक्तिमाथि केन्द्रित देखिएका छन्। उनले सुरक्षाकर्मीको मनोबल बढाउन सकेका छैनन्। सुरक्षा निकायका उच्च अधिकारीहरू उनीप्रति आश्वस्त र सन्तुष्ट देखिएका छैनन्। अनौपचारिक कुराकानीका क्रममा केही बहालवाला सुरक्षा अधिकारीहरूले अर्यालका गतिविधिहरूलाई ‘बचकाना’ भनिरहेका छन्। सुरक्षाकर्मीहरूसँग पर्याप्त बर्दी छैन। ब्यारेक छैन। हतियार र अन्य उपकरण छैनन्। सबैभन्दा ठूलो उनीहरूको भाँचिएको मनमा सरकारले अझै लेप लगाउन सकेको छैन। बरू नागरिक तहबाट भवन निर्माणमा सघाउनेलगायतका काम गरेर सुरक्षाकर्मीको भाँचिएको मन जोड्न मद्दत पुगिरहेको छ।

गृहमन्त्री अर्यालका सार्वजनिक अभिव्यक्ति कतिपय अवस्थामा भड्कावपूर्ण र उत्तेजित पनि देखिएको छ। उनले केही दिनअघिमात्र पूर्वमन्त्री दीपक खड्कालाई ‘भागेको’ अभिव्यक्ति दिए। खड्का व्यक्तिगत रूपमा मलाई पनि मन पर्दैनन् तर देशबाहिर गएको हरेक व्यक्तिलाई राज्यले ‘भागेको’ भन्न मिल्छ? गृहमन्त्रीको बोल्ने भाषा ठीकै हो?

केपी ओली, रमेश लेखक वा दीपक खड्कालाई कारबाही गर्नका लागि वा उनीहरूमाथि छानबिन गर्न आयोग बनेकै छ। जे गर्ला त्यो आयोगले गर्ला। जे गर्ला कानुनले गर्ला। गृहमन्त्री अर्यालले यसमा व्यक्तिगत चासो र दबाब दिनु उचित हुँदैन। ओली र लेखकबिरुद्धको जाहेरी प्रहरी-आयोगमा लामो घुमघाम गरेर अहिले दर्ता नभई अलपत्र परेको तथ्यसँग उनी मुर्मुरिनु हुँदैन। यो परिस्थितिबाट अघि बढ्ने कौशल र विवेक संक्रमणकालको गृहमन्त्रीसँग हुनुपर्छ।

अहिले गृहमन्त्रीका रूपमा अर्यालको पहिलो काम सुरक्षाकर्मीको मनोबल बढाउनू नै हो जुन एकरति बढेको देखिएको छैन। सुरक्षा निकायलाई विश्वासमा लिनु र आश्वस्त पार्नु नै हो जुन उनले एक रति गर्न सकेका छैनन्। कमसेकम बाहिरबाट हेर्दा र प्रहरीका उच्च अधिकारीहरूसँग कुरा गर्दा यही देखिएको छ।

अर्याल अहिले सत्तामा छन् र उनको क्षमता डेलिभरीबाट देखिनुपर्छ, न कि लोकप्रियतावादी र प्रतिशोधपूर्ण बोलीवचनबाट। आयोग वा प्रहरी प्रशासन वा अन्य निकायको कामकारबाहीमा उनले कुनै प्रकारको हस्तक्षेप गर्नु उपयुक्त हुँदैन। उनले असोज ९ मा आयोगको क्षेत्राधिकारमा परेका विषयमा कारबाही नगर्न प्रहरीलाई दिएको निर्देशन प्रसस्त आलोचनामा परिसकेको छ। अब यस्ता त्रुटि यो वा त्यो शैलीमा उनले पटकपटक दोहोर्‍याउनु हुँदैन। र, त्रुटिहरूमा आत्मालोचना गर्ने साहस पनि उनले देखाउन सक्नुपर्छ।

गृहमन्त्रीज्यू, कृपया संयम राख्नू। सक्नुहुन्छ भने सुरक्षाकर्मीको मनोबल बढाउनू।  सक्नुहुन्छ भने चुनावको वातावरण तयार गर्नू। सक्नुहुन्छ भने दलहरूलाई विश्वासमा लिनू। दलहरूबिना चुनाव हुनसक्दैन। एक महिनाका तपाईँका व्यवहार, अभिव्यक्ति र गतिविधिले संक्रमणकालमा सबैलाई साथ लिएर अघि बढ्नसक्ने गृहमन्त्री तपाईँलाई बनाउन सकेको छैन।

प्रेमदेव गिरीका लाेकलय र मादलकाे ताल

प्रेमदेव गिरीका लाेकलय र मादलकाे ताल

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’