पोखरा – ग्रामिण क्षेत्रका सामुदायिक विद्यालय सबैतिर रित्ता छन्। बडेमानका अग्लिएका भवनमा विद्यार्थीको संख्या ओरालो लाग्दै छ। गाउँबाट बसाइँसराइ झर्नेको लर्कोले गाउँका विद्यालयमा विद्यार्थी संख्या घटिरहेको हो। अर्कोतर्फ, घरबाट विद्यालयको दूरी दूर भएपछि केही अभिभावक त बाध्यताले छोराछोरी पढाउनकै निम्ति सहर झरेर डेरा जमाउनुपरेको छ।
वर्षेनी विद्यार्थीको संख्या घटिरहने समस्याले कास्कीको मादी गाउँपालिका–७ छाचोंकमा रहेको धनुवास कालिका माध्यामिक विद्यालय र धनुवास आधारभूत विद्यालय पनि अछुतो थिएनन्। गाउँले पोखरा झरेको झर्यै, विद्यार्थीको संख्या घटेको घट्यै।
यहाँको स्थानीय सरकार, समुदाय र विद्यालय मिलेर विद्यार्थीको संख्या घट्न नदिन जुक्ति निकाले। त्यो जुक्ति थियो, ‘स्कुल बस चलाएर विद्यार्थीलाई आउजाउमा सजिलो बनाउने।’

मादी गाउँपालिकाले सामुदायिक विद्यालयलाई जोगाउन बस खरिदको नीति लियो। साझेदारीमा स्कुल बस खरिद गर्न बजेट पनि छुट्यायो। मादी–७ का वडाध्यक्ष दुर्गाबहादुर गुरुङ गाउँपालिकको नीति र बजेट स्कुल बस खरिदको भएपछि कार्यान्वयनमा लागे।
स्थानीय सरोकारवाला र विद्यालयसँगको लामो छलफलपछि स्कुल बस किन्ने निर्णय गरे। विद्यालयले व्यहोर्नुपर्ने २५ प्रतिशत लागत साझेदारी र सञ्चालन कोष खडा गर्न क्याप्टेन इन्द्रबहादुर गुरुङको संयोजकत्वमा अर्थ संकलनका लागि समिति गठन भयो।
इन्द्रबहादुर नेतृत्वको समितिले अर्थ संकलनका लागि गाउँदेखि सहर र विदेशिएका गाउँलेसँग सहयोग माग्यो। समितिले देशविदेशबाट ३५ लाख रुपैयाँ बढी सहयोग जुटाएर स्कुल बस खरिद गरी चालु शैक्षिकसत्रदेखि सञ्चालनमा ल्याएको छ।
अहिले स्कुल बसले पोखरा महानगरपालिका–१३ काँहुखोलादेखि मादी गाउँपालिका–७ थाकसम्म विद्यार्थी ओसापोसार गर्छ।

निःशुल्क चल्ने स्कुल बसले दुई विद्यालयका विद्यार्थीलाई निकै सजिलो बनाएको छ। धनुवास कालिका माविकि विद्यार्थी कृपा भण्डारी स्कुल बसले निकै सजिलो बनाएको अनुभव सुनाउँछिन्। अहिले उनलाई न बस भाडाको न त छुट्ला भन्ने चिन्ता छ।
‘पहिला बस कुरेर जानुपर्थ्यो। भाडा चाहिन्थ्यो। कहिले बसले छोडेर जान्थ्यो। कहिले समयमा पनि आउथेन’, कृपा भन्छिन्, ‘अहिले स्कुल बसे चलेपछि भाडा नि चाहिँदैन। सधैँ एउटै समयमै आउँछ। सजिलो भा’को छ।’
धनुवास कालिका माविका प्रधानाध्यापक गोपाल सापकोटाका अनुसार स्कुल बसले विद्यार्थीको संख्या बढाएको छ। रित्तिन लागेको विद्यालयले अहिले सहरी क्षेत्रको विद्यार्थी गाउँमा उकाल्न सफल भएको छ। पोखरा महानगरपालिकाको काहुँखोलादेखि विद्यार्थी गाउँमा पढ्न आउँछन्। विद्यार्थीसँगै शिक्षकलाई पनि आउजाउमा सहज भएको छ।
धनुवास कालिका माविमा यो शैक्षिक शत्रमा २७ जना र धनुवास आधारभूत विद्यालयमा १० जना नयाँ विद्यार्थी थपिएका हुन्। मादी–७ थातथलो भई पोखरा झरेकाले बसले जाने लैजाने सुनिश्चित भएपछि गाउँकै विद्यालयमा छोराछोरी पठाएको सापकोटाको भनाइ छ। ‘वडाभर बस घुमाएर बजार झरेका जनतालाई गाउँ फर्काएर विद्यालय सञ्चालन गर्न सक्छौँ भन्ने अपेक्षा छ’, उनले भने।

स्कुल बस सञ्चालन गर्नुको उद्देश्य हो, विद्यालय जोगाइराख्ने र बजार झरेका गाउँलेलाई फिर्ता बोलाउने। अहिले त्यो योजना पूरा हुने चरणमा देखिन्छ। अर्थ संकलन समितिका संयोजक इन्द्रबहादुर गुरुङ सहरको जस्तै गुणस्तरीय शिक्षा गाउँमै दिने बताउँछन्।
‘जति पनि गाउँ छोडेर सहर झरेका छन् बाबुनानी पढाउन। जसको आर्थिक अवस्था कमजोर छ उनीहरु गाउँमै बसोस्। गाउँमै शिक्षा प्राप्त भन्ने मूल उदेश्य हो’, उनी भन्छन्।
सहर झरेकालाई गाउँ फर्काउन विद्यालयबाट सुरुवात गरेको वडाध्यक्ष दुर्गाबहादुर गुरुङ बताउँछन्। बालबच्चा पढाउन पोखरा झरेर महँगो भाडा तिरेर बस्ने अभिभावक अब गाउँ फर्कने उनले बताए।
‘पहिला उहाँहरुको बच्चालाई यहीँ विद्यालयमा शिक्षा दिने र यस विद्यालयमा पढेर पोखरामा जस्तै गुणस्तरीय शिक्षा पाइदो रहेछ भन्ने अभिभावकलाई परेपछि गाउँ फर्कनुहुन्छ’, वडाध्यक्ष गुरुङ भन्छन्, ‘गाउँमा फर्किएपछि गाउँको विकास त्यही हिसाबले हुन्छ। बाँझा भएका खेतबारी हराभरा हुन्छन्। उत्पादन बढ्छ।’

भर्खरै
लोकप्रिय






































































































































































































