- मुख्यमन्त्री जितेन्द्र प्रसाद सोनारले छठ सकिए लगत्तै विश्वासको मत लिएर मन्त्रिपरिषद् विस्तार गर्ने योजना बनाए।
- सत्ता साझेदार दलहरूले छठपछि विश्वासको मत लिने र मिति तोक्न सभामुखसँग परामर्श गर्ने सहमति गरे।
- पाँच दलबीच मन्त्रालय बाँडफाडको सहमति भए पनि विश्वासको मत लिएपछि मात्रै कार्यान्वयन गर्ने योजना छ।
जनकपुरधाम – मधेस प्रदेशका मुख्यमन्त्री जितेन्द्र प्रसाद सोनार (सोनल)ले विश्वासको मत लिएपछि मन्त्रिपरिषद् विस्तार गर्ने भएका छन्। पाँच दलको ५६ जना प्रदेशसभा सदस्यको समर्थनमा मुख्यमन्त्री बनेका लोकतान्त्रिक समाजवादी पार्टी ९लोसपा० नेपालका प्रदेशसभा सदस्य रहेका मुख्यमन्त्री सोनलले छठ सकिए लग्तै विश्वासको मत लिएर मन्त्रिपरिषद् विस्तान गर्ने भएका हुन्।
शुक्रबार रौतहटको चन्द्रनिगाहपुरमा सत्ता साझेदार दलहरुको भएको छलफलमा छठ सम्पन्न भएपछि विश्वासको मत लिने र यसका लागि सभामुख रामचन्द्र मण्डलसँग परामर्श गरेर मिति तोकिने सहमति भएको माओवादी केन्द्रका नेता युवराज भट्टराईले जानकारी दिए।
भट्टराईले जति सक्दो चाँडो विश्वासको मत लिएर मन्त्री मण्डल विस्तार गरिने सहमति भएको जानकारी दिए। भट्टराईका अनुसार मन्त्रीको संख्या र मन्त्रालयको विषयमा यस अघि नै सहमति भएको छ। सहमति अनुसार नै अगाडि बढ्ने तर त्यसका लागि पहिला विश्वासको मत लिनुपर्ने आवश्यकता रहेको बताए।
पाँच दलबीच भएको सहमति अनुसार जनता समाजवादी पार्टी (जसपा) नेपालले तीन, जनमत पार्टीले तीन, माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीले २/२ मन्त्रालय लिने सहमति भएको हो।
यस्तै, मधेस सरकारको नेतृत्व गरिरहेको लोसपाले मुख्यमन्त्री सहित एक मन्त्रालय लिने सहमति भएको थियो। १०७ सदस्यी रहको मधेस प्रदेशसभामा हाल १०४ जना प्रदेशसभा सदस्य कायम रहेका छन्। तीन जना प्रदेशसभा सदस्यमध्ये लोसपाका अभिराम शर्मालाई महोत्तरी जिल्ला अदालतले सशस्त्र प्रहरीका असई थमन विक हत्या प्रकरणमा जन्मकैदको सजाय सुनाएपछि निलम्बनमा छन् भने नेकपा एमाले र जसपा नेपालका १/१ जना प्रदेशसभा सदस्यमाथि भ्रष्टाचार मुद्दा दायर भएपछि निलम्बनमा छन्। मुख्यमन्त्री सोनलले विश्वासको मत पाउन प्रदेशसभामा कायम रहेका सदस्यहरुको बहुमत सदस्यले उनको पक्षमा विश्वासको मत दिएपछि उनको सरकारले निरन्तर्ता पाउने छ।
जनमत पार्टीको तर्फबाट मुख्यमन्त्री रहेका सतिशकुमार सिंहले राजीनामा दिएपछि नेपालको संविधानको धारा १६८ को उपधारा (२) बमोजिम सोनल गत असोज २९ गते मुख्यमन्त्रीमा नियुक्त भएका थिए। नियुक्त भएको भोलि पल्ट सोनलले मुख्यमन्त्रीमा र जनमत पार्टीका संसदीय दलका नेता महेशप्रसाद यादव तथा नेकपा एसका प्रमुख सचेतक कनिष पटेलले विना विभागीय मन्त्रीको रुपमा शपथ लिएका थिए।

भर्खरै
लोकप्रिय






































































































































































































