- मोरङमा १८ दिनपछि जंगलमा १३ वर्षीया बालिका अंशु गौतमको शव बीभत्स अवस्थामा फेला परेको छ भने उनको हत्या भएको आशंका गरिएको छ।
- घटनास्थलमा बालिकाको भेष्ट र टाउजर फेला परेको र बलात्कारपछि हत्या भएको हुनसक्ने प्रहरीको भनाइ छ।
- स्थानीयले दोषीलाई तत्काल पक्राउ गर्न र अनुसन्धानलाई तीव्रता दिन माग गरेका छन्, जबकि शव पोस्टमार्टमका लागि पठाइएको छ।
मोरङ – मोरङमा बेपत्ता भएको १८ दिनपछि एक बालिकाको शव जंगलमा फेला परेको छ। लेटाङ नगरपालिका २ स्थित स्कुल चौककी १३ वर्षीया बालिका अंशु गौतमको शव शुक्रबार दिउँसो करिब साढे १ बजे स्थानीय जंगलमा बीभत्स रुपमा हत्या गरिएको अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ।
मोरङ प्रहरीका प्रमुख तथा प्रहरी उपरिक्षक कवित कट्वालका अनुसार लक्ष्मी माविमा कक्षा ५ मा अध्ययनरत बालिकाको शव दिउँसो बेलबारी–चिसाङ साझेदारी वनभित्र स्थानीयले घास काट्न जाने क्रममा फेला पारेर प्रहरीलाई जानकारी गराएका थिए।
सो खबरसंगै विराटनगरबाट घटनास्थल पुगेका प्रहरी प्रमुख कट्वालले शव हेर्दा कसैले बीभत्स रुपमा हत्या गरि फालेको हुन सक्ने बताए। उनका अनुसार अंशुको टाउको र शरिर छुट्टीएको र दुर्गन्धित अवस्थामा फेला परेको हो। जंगलमा शव देखिएपछि स्थानीय समेत त्रसित र स्तब्ध बनेको उनको भनाई छ। शव कुहिएर जंगलको एक क्षेत्रमा दुर्गन्ध फैलिएको उनको भनाई छ। गत असोज २१ गते अपरान्ह साढे ४ बजे घरबाटै अज्ञात अवस्थामा रहेकी थिइन्। त्यसपछि अभिभावकले उनको सबैतिर खोजी गरेका थिए। कसैलाई केही नभनि बेपत्ता भएको करिब ३ सातापछि उनको शव जंगलमा भेटिएको हो। प्रहरीका अनुसार घटनास्थल नजिक अंशुले लगाएको भेष्ट र टाउजर फालिएको अवस्थामा फेला परेको छ।
मोरंग प्रहरीका प्रमुख कट्वालका अनुसार बालिकाको बलात्कार गरिएपछि हत्या गरिएको हुनसक्छ। यद्धपि जंगल भित्र शव फेला परेको हुँदा अंशुलाई जंगली जनावरले आक्रमण गरेको पनि हुन सक्ने प्रहरी प्रमुख कट्वालको भनाई छ। घटनाको अनुसन्धान भइरहेको बताएका उनले अहिलेनै हत्याको कारण खुल्न नसक्ने जानकारी दिए। सोही वडाका अध्यक्ष तेजप्रसाद तिम्सिनाका अनुसार अंशुको परिवार समान्य रहेको छ।
अंशुको मृत्युले सिंगो लेटाङ नै त्रसित र स्तब्ध भएको वडाध्यक्ष तिम्सिनाको भनाई छ। बीभत्स अवस्थामा शव फेला परेकाले बालिकाको हत्या नै भएको बताउँदै स्थानीयले दोषीलाई तत्काल पक्राउ गरी कडा कारबाहीको दायरामा ल्याउन माग गरेका छन्। प्रहरीले आवश्यक कानुनी प्रक्रिया पूरा गरेर बालिकाको शवलाई पोस्टमार्टमका लागि धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान पठाएको छ।

भर्खरै
लोकप्रिय






































































































































































































