मोरङ – जिल्ला कारागार मोरङका एक जना कैदीबन्दीको उपचारका क्रममा मृत्यु भएको छ।
सुन्दरहरैंचा नगरपालिकाका ३२ वर्षीय जितप्रसाद सापकोटाको उपचारका क्रममा नोबेल अस्पतालमा मृत्यु भएको कारागारका जेलर गौरव ढुंगानाले जानकारी दिए।
लागुऔषधका मुद्दामा कारागारमा रहेका सापकोटाको शरीर सुन्निने, सास फेर्न समस्यालगायत देखिएपछि असोज २७ गते उपचारका लागि कोशी अस्पतालमा भर्ना गरिएको उनले बताए।
उपचारका क्रममा कार्तिक ६ गते कोशीमा थप उपचार गर्न सम्भव नभएपछि सापकोटालाई नोबेल अस्पताल भर्ना गरिएको थियो। यस क्रममा सापकोटाको शुक्रबार राति करिब ९ बजे मृत्यु भएको जेलर ढुंगानाले बताए।
उनका अनुसार सापकोटाको फोक्सोमा पानी जमेको र कलेजो पूर्णरूपमा खराब भएकाले बचाउन नसकिएको जानकारी उपचारमा संलग्न चिकित्सकले दिएका छन्। लागुऔषध मुद्दाका प्रतिवादी रहेका सापकोटालाई जिल्ला अदालत मोरङले गत साउन १२ गते थुनामा राखेर मुद्दाको पुर्पक्ष गर्न आदेश दिएको थियो। उनीविरुद्ध मुद्दा विचाराधीन छ।
सापकोटाको शव भने परिवारले जिम्मा लिएर लगिसकेको जेलर ढुंगानाले बताए। जिल्ला कारागार मोरङमा हाल १ हजार १ सय ८७ जना कैदीबन्दी रहेको उनले बताए।

भर्खरै
लोकप्रिय






































































































































































































