- क्यासिनो माजोङले पाँचौ पटक ‘बेस्ट क्यासिनो इन साउथ एसिया’ को उपाधि प्राप्त गरेको छ।
- भारतको नयाँ दिल्लीमा आयोजित २०औं पर्यटन, यात्रा र आतिथ्य पुरस्कार समारोहमा यो सम्मान प्रदान गरियो।
- माजोङ समूहले यस वर्ष क्यासिनो माजोङ नेपालगञ्ज र महाप्रबन्धक प्रधानलाई उत्तम अवार्डहरू जितेको छ।
काठमाडाैँ – क्यासिनो माजोङले दक्षिण एसियास्तरको प्रतिष्ठित अवार्ड पाँचौ पटक हात पारेको छ। काठमाडौंको सोल्टी होटल परिसरमा अवस्थित क्यासिनो माजोङलाई ‘बेस्ट क्यासिनो इन साउथ एसिया’ (दक्षिण एसियाको उत्कृष्ट क्यासिनो) अवार्ड प्रदान गरिएको हो।
भारतको राजधानी नयाँ दिल्लीस्थित होटल द अशोकमा अक्टोबर २४ मा आयोजित ‘२०औं पर्यटन, यात्रा र आतिथ्य पुरस्कार’ समारोहमा माजोङलाई यो सम्मान प्रदान गरिएको हो। भारतको प्रतिष्ठित ‘हस्पिटालिटी इन्डिया’ले हरेक वर्ष विश्वभरका होटल र क्यासिनोहरूलाई यो अवार्ड वितरण गर्दै आएको छ।
समारोहमा क्यासिनो माजोङका प्रबन्ध निर्देशक विनोद श्रेष्ठले भारतका संस्कृति तथा पर्यटन मन्त्री गजेन्द्रसिंह शेखावतको हातबाट पुरस्कार ग्रहण गरेका थिए। नेपालको नम्बर १ क्यासिनोको रूपमा चिनिएको माजोङले यो अवार्डमा आफ्नो बलियो उपस्थिति देखाउँदै आएको छ।
यसअघि क्यासिनो माजोङले सन् २०१९, २०२२, र २०२३ मा ‘बेस्ट क्यासिनो इन साउथ एसिया’ तथा सन् २०१८ मा ‘बेस्ट क्यासिनो इन नेपाल’ अवार्ड जितेको थियो। (सन् २०२० र २०२१ मा कोभिड महामारीका कारण अवार्ड वितरण भएको थिएन)।
माजोङ समूहलाई थप दुई अवार्ड
यस वर्ष माजोङ समूहले थप दुईवटा पुरस्कार पनि जितेको छ। क्यासिनो माजोङ नेपालगञ्जलाई ‘नेपालको उत्कृष्ट क्यासिनो’ (बेस्ट क्यासिनो इन नेपाल) को उपाधिले सम्मानित गरिएको छ।
त्यसैगरी, क्यासिनो माजोङ नेपालगञ्जका महाप्रबन्धक निराजकुमार प्रधानले ‘दक्षिण एसियाको उत्कृष्ट क्यासिनो महाप्रबन्धक’ (बेस्ट क्यासिनो जनरल म्यानेजर इन साउथ एसिया) को पुरस्कार प्राप्त गरे। प्रधानले गत वर्ष पनि यही उपाधि जितेका थिए।
विगत २७ वर्षदेखि पर्यटन क्षेत्रमा सक्रिय रहेका प्रबन्ध निर्देशक श्रेष्ठको नेतृत्वमा क्यासिनो माजोङले हरेक वर्ष लाखौं विदेशी पर्यटकलाई आकर्षित गर्दै आएको छ।
‘हस्पिटालिटी इन्डिया पब्लिकेशन्स ग्रुप’ ले प्रदान गर्ने यो पुरस्कार व्यवसायिक प्रदर्शन, आगन्तुकको संख्या, लोकप्रियता र बजार प्रतिष्ठाजस्ता सूचकको विस्तृत अध्ययनका आधारमा छनोट गरिन्छ। हाल काठमाडौं र नेपालगञ्जमा गरी करिब १,००० कर्मचारी कार्यरत रहेको माजोङले निकट भविष्यमै वीरगञ्जमा तेस्रो शाखा सञ्चालन गर्ने योजना बनाएको छ।

भर्खरै
लोकप्रिय






































































































































































































