क्वालालम्पुर – ब्राजिलका राष्ट्रपति लुइज इनासिओ लुला दा सिल्भाले संयुक्त राष्ट्रसङ्घ (युएन) र अन्य बहुपक्षीय संस्थाहरूले आफ्नो उद्देश्य गुमाएर ‘काम गर्न छोडेका छन्’ भन्ने टिप्पणी गर्दै गाजाका युद्धपीडितहरूको संरक्षणमा असफल भएको बताएका छन्।
शनिबार मलेसियाका प्रधानमन्त्री अनवर इब्राहिमसँगको भेटपछि आयोजित पत्रकार सम्मेलनमा राष्ट्रपति लुलाले भने, ‘गाजा पट्टीमा यति लामो समयदेखि भइरहेको नरसंहारलाई कसरी स्वीकार गर्न सकिन्छ? ती संस्थाहरू, जसलाई यस्ता अत्याचार रोक्नका लागि स्थापना गरिएको थियो, आज निष्क्रिय बनेका छन्। संयुक्त राष्ट्रसङ्घ र यसको सुरक्षा परिषद् अब काम गर्दैनन्।’
उनले मलेसियासँगको सम्बन्धलाई अझ सुदृढ बनाउन प्रतिबद्धता व्यक्त गरे। अन्तर्राष्ट्रिय समुदायले मानवताको पक्षमा ठोस कदम चाल्नुपर्नेमा उनले जोड दिए।
उक्त अवसरमा राष्ट्रपति लुलाले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पप्रति व्यङ्ग्य गर्दै भने, ‘एकजना नेताका लागि नोबेल पुरस्कारभन्दा टाउको उठाएर हिँड्न सक्नु धेरै महत्त्वपूर्ण कुरा हो।’
ट्रम्प हाल एसिया भ्रमणमा छन्। उनले आफ्नो भ्रमणको अन्तिम दिन बिहीबार दक्षिण कोरियामा चिनियाँ राष्ट्रपति सी जिनपिङसँग उच्चस्तरीय वार्ता गर्नेछन्। यसअघि, उनी आइतबार थाइल्यान्ड र कम्बोडियाबीच हुने शान्ति सम्झौतामा हस्ताक्षर साक्षी बन्ने अपेक्षा गरिएको छ, जसमा अमेरिकी मध्यस्थता रहेको बताइएको छ।
नर्वेको नोबेल समितिले भेनेजुएलाकी विपक्षी नेत्री मारिया कोरिना मचाडोलाई यस वर्षको शान्ति पुरस्कार प्रदान गरेपछि ट्रम्पलाई बेवास्ता गरिएको भन्दै ह्वाइट हाउसले असन्तोष जनाएको थियो। जनवरीमा दोस्रो कार्यकालका लागि पदभार ग्रहण गरेपछि ट्रम्पले आफूले विश्वका धेरै द्वन्द्वहरू समाधान गर्न योगदान दिएको भन्दै नोबेल पुरस्कारको योग्य भएको दाबी गर्दै आएका छन्। रासस/एएफपी

भर्खरै
लोकप्रिय






































































































































































































