काठमाडौँ – सामाजिक सञ्जालमार्फत विभिन्न व्यक्ति तथा समूहका नाममा धर्ना, जुलुस, विरोध प्रदर्शनलगायत आन्दोलनका कार्यक्रमहरू सार्वजनिक भइरहेको विषयमा गम्भीर ध्यानाकर्षण भएको भन्दै गृह मन्त्रालयले वार्ता र संवादबाट समाधान खोज्न आग्रह गरेको छ।
मन्त्रालयले शनिबार विज्ञप्ति जारी गर्दै जायज माग, चासो एवम् सरोकारलाई सम्बोधन गर्न सरकार गम्भीर रहेको बताएको हो।
वर्तमान सरकार आगामी फागुन २१ गतेका लागि तय भएको निर्वाचनको वातावरण बनाउनेतर्फ क्रियाशील रहेको स्मरण गराउँदै मन्त्रालयले सोहीअनुसार सरकारले निर्वाचनसम्बन्धी कानुनमा संशोधन, स्रोत र साधनको व्यवस्थापन, राजनीतिक दल तथा सरोकार भएकाहरूसँग वार्ता र संवाद गरिरहेको विज्ञप्तिमा उल्लेख छ।
देशमा शान्तिसुरक्षा कायम गर्दै घोषित मितिमा स्वच्छ, निष्पक्ष एवम् भयरहित वातावरणमा निर्वाचन सम्पन्न गराउन सबैको योगदान महत्त्वपूर्ण र भूमिका अपरिहार्य रहेको भन्दै सोहीबमोजिमको भूमिका र दायित्वअनुसार सहकार्य र समन्वय आवश्यक पर्नेमा मन्त्रालयले जोड दिएको छ।
विज्ञप्तिमा भनिएको छ, ‘गत भदौ २३ र २४ गतेको प्रदर्शनपश्चात्, सार्वजनिक सेवा पुनः सञ्चालन गर्नाका साथै क्षतिग्रस्त संरचनाको पुनर्निर्माण प्रक्रिया आरम्भ गरी शान्तिसुरक्षाको अवस्था सामान्य हुँदै जानुका साथै सरकारले निर्वाचन केन्द्रित वातावरण निर्माण गरिरहेको छ। हाल सामाजिक सञ्जालमार्फत विभिन्न व्यक्ति तथा समूहका नाममा धर्ना, जुलुस, विरोध प्रदर्शनलगायत आन्दोलनका कार्यक्रमहरू सार्वजनिक भएको विषयमा गृह मन्त्रालयको गम्भीर ध्यानाकर्षण भएको छ।’
देशमा अस्थिरता निम्त्याउन खोज्ने स्वार्थ समूहले यस्ता कार्यक्रममा घुसपैठ गरी अशान्ति एवम् अराजकता निम्त्याउन सक्ने हुँदा त्यसतर्फ आयोजकहरूसमेत सचेत हुनुपर्नेतर्फ मन्त्रालयले ध्यानाकर्षण गराएको छ।


भर्खरै
लोकप्रिय






































































































































































































