- चेल्सी आफ्नै मैदानमा सन्डरल्यान्डसँग २-१ ले पराजित हुँदा, सन्डरल्यान्ड लिग तालिकाको दोस्रो स्थानमा उक्लियो।
- ब्रेन्टफोर्डले लिभरपुललाई ३-२ ले हराउँदै आफ्नै घरेलु मैदानमा उत्कृष्ट प्रदर्शन गर्दै जित हासिल गर्यो।
- चेल्सी र लिभरपुलको पराजयपछि लिग तालिकामा आर्सनल पहिलो, सन्डरल्यान्ड दोस्रो र लिभरपुल छैटौं स्थानमा छन्।
इंग्लिस प्रिमियर लिग फुटबलमा बलिया क्लब चेल्सी र लिभरपुल तुलनात्मक रूपमा कमजोर टोली सन्डरल्यान्ड र ब्रेन्टफोर्डसँग पराजित भएका छन्। यद्यपि सन्डरल्यान्डले जारी सिजनमा नाटकीय प्रदर्शन गर्दै लिग तालिकाको दोस्रो स्थानमा उक्लिन सफल भएको छ।
शनिबार राति भएको खेलमा चेल्सी सन्डरल्यान्डसँग २-१ ले पराजित भयो भने ब्रेन्टफोर्डले लिभरपुललाई ३-२ ले हरायो। त्यसैगरी, म्यानचेस्टर युनाइटेडले ब्राइटनमाथि ४-२ को जित हात पार्यो र न्युक्यासल युनाइटेडले फुलह्यामलाई २-१ ले पराजित गर्यो।
सन्डरल्यान्डका विङ्गर केम्सडिन तलाबीले इन्जुरी समयको चौथो मिनेटमा निर्णायक गोल गर्दै चेल्सीलाई उसकै घरेलु मैदानमा स्तब्ध बनाए। खेलको सुरुवाती चौथो मिनेटमै चेल्सीका अलेक्जान्द्रो गर्नाचोले गोल गर्दै अग्रता दिलाएका थिए, तर २२औं मिनेटमा विल्सन इसिडोरले सन्डरल्यान्डका लागि बराबरी गोल फर्काए। जारी सिजनमा सन्डरल्यान्डको यो अवे मैदानमा दोस्रो जित हो। दोस्रो हाफमा ‘ब्ल्याक क्याट्स’ सचेत र संयमित देखिँदा चेल्सीले बराबरी गोलका लागि आक्रामक प्रयास गरे पनि सफल हुन सकेन।
जितसँगै सन्डरल्यान्डले ९ खेलबाट १७ अंक जोड्दै लिग तालिकाको दोस्रो स्थानमा पुगेको छ। एक खेल कम खेलेको शीर्ष स्थानको आर्सनलसँग १९ अंक छ।
उता, साविक च्याम्पियन लिभरपुलको हारको सिलसिला जारी छ। ब्रेन्टफोर्डले घरेलु मैदानमा उत्कृष्ट प्रदर्शन गर्दै लिभरपुलमाथि ३-२ को जित निकाल्यो। खेलको पाँचौं मिनेटमा ड्यान्गो आउताराले ब्रेन्टफोर्डलाई अग्रता दिलाए। ४५औं मिनेटमा केभिन साडेले दोस्रो गोल थपे भने अतिरिक्त समयमा मिलोस केर्केजले लिभरपुलका लागि एक गोल फर्काए।
दोस्रो हाफमा इगोर थियागोले पेनाल्टीमार्फत गोल गर्दै ब्रेन्टफोर्डलाई पुनः दुई गोलको अग्रता दिलाए। निर्धारित समयको अन्तिमतिर मोहम्मद सालाहले उत्कृष्ट फिनिशिङसहित गोल गरे पनि लिभरपुललाई हारबाट जोगाउन सकेन।
यस पराजयसँगै लिभरपुल ९ खेलबाट १५ अंकसहित तालिकाको छैटौं स्थानमा पुगेको छ। पराजित चेल्सी भने ९ खेलबाट आठौं स्थानमा झरेको छ। अंक तालिकामा आर्सनल र सन्डरल्यान्ड क्रमशः पहिलो र दोस्रो स्थानमा छन् भने म्यानचेस्टर सिटी तेस्रो र म्यानचेस्टर युनाइटेड चौथो स्थानमा रहेका छन्।

भर्खरै
लोकप्रिय






































































































































































































