जनकपुरधाम – मिथिलाञ्चलको लोक आस्थाको पर्व छठको दोस्रो दिन आज खरना विधि सम्पन्न गरिएको छ। शनिबारबाट सुरु भएको छठको दोस्रो आज साँझ व्रतालुहरुले इष्टदेवलाई पूजा अराधना गरी खरना विधि सम्पन्न गरेका छन्।
माटोको नयाँ चुलो र माटोकै नयाँ भाँडोमा सक्खर, दूध र चामलबाट बनेको खीर खरनामा नैवेद्यको रुपमा दिइएको छ। खरनामा छठपर्वको मुख्य दिन चढाउने अर्घ जति स्थानमा केराको पातमाथि नैवेद्य चढाउने परम्परा रहेको छ।

खरनामा चढाइने नैवेद्यमा खीर, दूध, केरा, मूला, अदुवा, पान र सुपारी आदि राखिन्छन्। नैवेद्यलाई केराको पातमा राखेर छठीमातालाई चढाइन्छ नैवेद्यलाई उत्सर्ग गरिसकेपछि व्रतालु र परिवारजनले प्रसाद ग्रहण गर्ने प्रचलनलाई खरना भन्ने गरिन्छ।
छठको दोस्रो दिन हुने खरनामा बनेको खीर खाएपश्चात व्रतालुहरु छठको चौथो दिन उदाउँदै गरेको सूर्यलाई अर्घ दिई खाना खान्छन्। यस अवधिमा उनीहरू पानीसमेत खाँदैनन्।

कात्तिक शुक्ल चतुर्थीदेखि सप्तमीसम्म चारदिन मनाइने यो पर्वमा सम्पूर्ण शक्तिको स्रोत सूर्यको उपासना गर्ने गरिन्छ। यो महापर्वको पहिलो दिन नुहाएर चोखो भई खाने, दोस्रो दिन खरना, तेस्रो दिन अस्ताउँदो र चौथो दिन उदाउँदो सूर्यलाई अर्घ दिएपछि विधिवत रुपमा पर्व समापन हुनेछ।
यस पर्वको लागि जनकपुरधामसहित ग्रामिण भेगहरुमा पोखरी तथा पानीको मुहार भएको क्षेत्रलाई सिँगारिएको छ। छठ पर्वमा जनकपुरधाममा अत्याधिक भीड हुने गरेकोले यसलाई नियन्त्रण गर्न सुरक्षा व्यवस्था कडा गरिएको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ।

पोखरी नै पोखरीको शहरको रुपमा चिनिएको जनकपुरधामका प्रमुख पोखरीहरुमा छठ पूजाको लागि टेन्ट र पण्डाल लगाइएको छ। यहाँको गंगासागर, दशरथ तलाउ, अरगजासर, नोचा पोखरी लगायतको दर्जनौँ पोखरीहरु सजाइएको छ।


भर्खरै
लोकप्रिय






































































































































































































