- आर्सनलले क्रिस्टल प्यालेसलाई १-० ले पराजित गर्दै लिगको शीर्ष स्थानमा चार अंकको अग्रता बनाएको छ।
- म्यानचेस्टर सिटीलाई एस्टन भिल्लाले १-० ले हराउँदै सिटीको ९ खेलको अपराजित यात्रा समाप्त गर्यो।
- एस्टन भिल्लाले म्याटी क्यासको गोलमार्फत पहिलो हाफमा अग्रता लिएर सिटीलाई पराजित गर्यो।
इंग्लिस प्रिमियर लिग फुटबलमा शीर्ष स्थानमा रहेको आर्सनलले क्रिस्टल प्यालेसलाई पराजित गर्दै आफ्नो अग्रता फराकिलो बनाएको छ।आइतबार राति भएको खेलमा आर्सनलले क्रिस्टल प्यालेसलाई १-० ले पराजित गर्दा अर्को खेलमा उपाधि दाबेदार मानिएको म्यानचेस्टर सिटी एस्टन भिल्लासँग १-० ले स्तब्ध बन्यो।
आर्सनलको जितमा एबेरेची एजेले आफ्नो पूर्व क्लबविरुद्ध निर्णायक गोल गरे। यही समरमा ६७ मिलियन पाउन्डमा आर्सनलमा अनुबन्धित भएका एजेको गोलसँगै आर्सनलले लिगको शीर्ष स्थानमा चार अंकको स्पष्ट अग्रता बनाउन सफल भयो।

आर्सनलको जित पुन: एकपटक ‘ट्रेडमार्क’ सेट-पिसबाट सम्भव भएको थियो। यो सिजन सेट-पिसबाट आर्सनलले गरेको यो ११औं गोल हो। डेक्लान राइसले प्रहार गरेको फ्रि-किकलाई सेन्टर-ब्याक ग्याब्रियलले हेडमार्फत मिलाइदिएको बललाई एजेले एक्रोब्याटिक शैलीमा गोलमा परिणत गरेका थिए।
यद्यपि, खेलका क्रममा राइस सामान्य चोटका कारण मैदान छाड्न बाध्य भए। यो जितसँगै आर्सनल सबै प्रतियोगितामा गरी १० खेलसम्म अपराजित रहेको छ। प्यालेसले आर्सनलको बलियो रक्षापंक्तिलाई खासै चुनौती दिन सकेको थिएन। दोस्रो हाफमा ग्याब्रियलको हेडर क्रसबारमा लाग्दा आर्सनल अग्रता दोब्बर गर्नबाट चुकेको थियो।
सिटीको अपराजित यात्रामा पूर्णविराम
त्यस्तै अर्को खेलमा एस्टन भिल्लाले म्यानचेस्टर सिटीलाई पराजित गर्यो। म्यानेजर उनाइ एम्रीले क्लबमा आफ्नो कार्यकालको तेस्रो वार्षिकोत्सव मनाउँदै म्यानचेस्टर सिटीविरुद्ध १-० को संघर्षपूर्ण जित निकालेका छन्। यो हारसँगै सिटीको ९ खेलको अपराजित यात्रामा पूर्णविराम लागेको छ।
सन् २०२२ मा स्टिभन जेरार्डको स्थानमा आएका एम्रीले भिल्लालाई निकै सुधार गरेका छन्। बिहीबार युरोपा लिगमा अप्रत्याशित हार व्यहोरे पनि भिल्लाले लिगमा यो लगातार चौथो जित दर्ता गर्यो।
घरेलु टोलीका लागि खेलको १९औं मिनेटमा म्याटी क्यासले निर्णायक गोलमा अग्रता बनाएको थियो। कर्नरबाट आएको बललाई उनले बक्स बाहिरबाट गरेको ‘लेफ्ट फुटेड’ सट सुन्दर गोलमा परिणत भएको थियो। यद्यपि, सिटीका खेलाडीहरूले उक्त कर्नर दिनुअघि लुकास डिग्नेले माथेस न्युनेसलाई फल गरेको भन्दै असन्तुष्टि जनाएका थिए।
त्यसको दुई मिनेटपछि नै सिटीले बराबरी गर्ने सुनौलो मौका पाएको थियो। फिल फोडेनले उत्कृष्ट पास दिए पनि भरपर्दा स्ट्राइकर अर्लिङ हालान्डको प्रहारलाई एमिलियानो मार्टिनेजले विफल पारे।
खेलको अन्त्यतिर, विङ्गर साभिन्होको भलीलाई पाउ टोरेसले गोललाइनबाट बचाएका थिए भने हालान्डले गरेको एक गोल अफसाइड घोषित हुँदा सिटीले हार टार्न सकेन र दोस्रो स्थानमा उक्लने मौका गुमायो।

भर्खरै
लोकप्रिय






































































































































































































